कस्केली अधिकृत समाजले स्याङ्जा र पर्वत जिल्लाका सीमा क्षेत्रमा पर्ने डहरे देउराली, अन्धाअन्धी दह लगायतका धार्मिक पर्यटकीय स्थलको पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको छ।
समाजको वार्षिक कार्यक्रमअनुुसार प्रत्येक वर्ष पोखरा र आसपासका धार्मिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरिदै आएकोमा यस वर्ष डहरे देउराली, अन्धाअन्धी दह लगायतका स्थानलाई समेटिएको हो।
डहरे देउराली र अन्धाअन्धी दह धार्मिक आस्था एवं विश्वासका कारण पनि प्राचीन कालदेखि चर्चामा आएका तीर्थस्थल हुन्।
समुद्र सतहदेखि २ हजार २ सय ५० मिटर उचाईमा रहेको डहरे देउराली प्राचीन धर्मग्रन्थमा पनि उल्लेख भएको तीर्थस्थल हो।
१८ पुराणमध्येको स्कन्द पुराणमा नीलगिरि पर्वत, सिद्धेश्वर महादेव र कालीशक्ति डहरेको नाम उल्लेख भएको श्री मोक्षद्वारी बाल सिद्ध योगाश्रममा पीठाधीश पशुपत्यानन्द गिरीजी महाराजले जानकारी दिए।
गिरीजी महाराजकाअनुसार परापूर्वकालमा यहाँ डगरा नाम गरेका ऋषिले तपस्या गरेको उल्लेख छ।
डगरा ऋषिले तपस्या गरेको स्थान भएकाले यसको अपभ्रंश भई डहरे हुन गएको यहाँका स्थानीयवासी बताउँछन्।
विसं १९९७ मा तत्कालीन पर्वतको लुङ्खुुका षडानन्द अधिकारी (बालब्रह्मचारी) पहराभित्र बसेर तपस्या गरेका थिए।
विशेषगरी नवदुर्गा, शिवरात्रि, बाला चतुर्दशीजस्ता चाडपर्वसहित हरेक मंगलबार र शनिबारका दिन यहाँ ठूलो संख्यामा दर्शनार्थी आउने गर्दछन्।
अग्लो स्थानमा अवस्थित भएकोले यहाँबाट स्याङ्जाका अधिकांश भागसहित पर्यटन राजधानी पोखरा र आसपासका कुस्मा, बागलुङलगायत जिल्लाका बजार, हिमशृंखलाहरु, सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य नाङ्गो आँखाले देख्न सकिन्छ।
पर्यटन प्रवद्र्धनकै क्रममा आँधिखोला गाउँपालिका वडा नं २ मा पर्ने अन्धाअन्धी दहको पनि प्रवद्र्धनात्मक भ्रमण गरिएको थियो।
अन्धाअन्धी दह श्रवणकुमारको ऐतिहासिक कथासँग सम्बन्धित छ।
किंवदन्तीअनुसार आफ्ना दृष्टिविहिन बाबाआमालाई खर्पनमा बोकेर तीर्थाटन गराउन हिडेका क्रममा बाबा–आमालाई तिर्खा लागेछ।
नजिकै पानी नपाएपछि एउटा गुफामा राखेर पानी खोज्न जाँदा तलाउमा पानी भर्ने क्रममा राजा दशरथको वाण लागेर श्रवणकुमारको मृत्यु भएछ।
आफ्ना छोराको मृत्युको वियोगले रोएका तिनै बाबा–आमाको आँखाबाट सो दह बनेको विश्वास गरिने स्थानीय समाजसेवी लेखनाथ पौडेलले जानकारी दिए।
उक्त दहलाई आँधिखोलाको मुहानका रुपमा लिने गरिन्छ।
दुईतर्फ कडा चट्टानसहितको पहाडको बीचमा रहेको दह, ओडारभित्र रहेको श्रवणकुमारका बाबाआमाको मूर्ति आदि यहाँका आकर्षण हुन्।
यस ठाउँमा विशेषतः बालाचतुर्दशीका बेला ठूलो मेला लाग्ने पौडेलले जानकारी दिए।
डहरे देउराली, अन्धाअन्धी दहलगायत यहाँको आसपास धेरै पर्यटकीय गन्तव्य प्रवद्र्धनको पर्खाइमा रहेको साविक कार्किनेटा साहुुथर निवासी समाजसेवी घनश्याम शर्मा पौडेल बताउँछन्।
‘नेपालका वाइसे–चौवीसे राजाको समयमा पर्वते राजाको दरबारका अवशेष यहाँस्थित ठूली भीरको शीरमा अहिले पनि देख्न सकिन्छ’, उनले भने, ‘यहाँ आसपासका बाघपाइला, किराको खोर, ठूली भीर आदिको प्रवद्र्धन गरी पर्यटनसँग जोड्न सकिने धेरै संभावना छन्।’
यसैबीच, डहरे देउरालीमा आयोजित कार्यक्रममा समाजले प्रकाशन गरेको नयाँ वर्ष २०८१ को क्यालेन्डर लोकार्पण गरिएको थियो।
समाजका अध्यक्ष चन्द्रबहादुर सुुवेदी, कार्यक्रमका प्रमुख अतिथि फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी, समाजका सल्लाहकारहरू दुुर्गाबहादुर शाह (बाबा), देबेन्द्र केसी, भगवान पन्त, विश्वनाथ पराजुली, प्रेमप्रकाश गौतम, श्री मोक्षद्वारी बालसिद्ध योगाश्रमका पीठाधीश पशुपत्यानन्द गिरीजी महाराज, अध्यक्ष दीपक श्रेष्ठ, समाजसेवी घनश्याम शर्मा पौडेललगायतले सामुहिक रुपमा क्यालेन्डर लोकार्पण गरेका हुन्।
प्रवद्र्धनात्मक भ्रमणलाई लक्षित गरी कार्यसमिति सदस्य वासुदेव पौडेलको संयोजकत्वमा वसन्त चालिसे, चन्द्रवती अधिकारी, सन्तोष ढुुंगाना र सुमित्रा उदास (मल्ल) सदस्य रहेको उपसमिति गठन गरिएको थियो।
नयाँ वर्ष २०८१ को क्यालेन्डर प्रकाशनका लागि समाजका सचिव महेश पौडेलको संयोजकत्वमा विष्णुुप्रसाद पोखरेल र वासुदेव पौडेल सदस्य रहेको उपसमिति गठन गरिएको थियो।
कार्यक्रमकै अवसरमा डहरे क्षेत्रको धार्मिक पर्यटकीय विकासका लागि समाजका तर्फबाट र सदस्यहरूको स्वतस्फूर्त सहयोग स्वरुप संकलित २५ हजार ५५० रुपैयाँ श्री मोक्षद्वारी बालसिद्ध योगाश्रम डहरे देउरालीका अध्यक्ष दीपक श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो।