‘भ्रामक र तथ्यहीन सूचना देशलाई नै घातक’

‘भ्युअर्स’को लोभमा लागेर गलत समाचार लेख्दा देशलाई नै आघात पुग्नेतर्फ प्रेस काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको पत्रकारहरुप्रति ध्यानाकर्षण

जनसम्मत
जेठ २४, २०८१, बिहीवार

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले भ्रामक र तथ्यहीन सूचना फैलाउनु देशकै लागि घातक हुने भएकाले त्यसतर्फ गंभीर हुन सबै संचार माध्यमलाई आग्रह गरेका छन्।

अनलाइन र सामाजिक सञ्जालमार्फत अफवाहपूर्ण र एकपक्षीय सूचना बढी प्रवाह भएको पाइएका उनले औँल्याए।

अध्यक्ष बस्नेतले त्यस्ता माध्यमलाई कालोसूचीमा राख्ने प्रक्रिया थालिएको जानकारीसमेत दिए।

नयाँ खुलेका अनलाइन संचार माध्यमका सम्पादक, संचालकलाई आज (बिहीबार) काउन्सिलमा बोलाएर पत्रकार आचारसंहिताको विषयमा अभिमुखीकरण राखिएको हो।

सोही क्रममा बोल्दै अध्यक्ष बस्नेतले राम्रो काम गर्नेलाई पुरस्कार र अटेर गर्नेलाई कडा कारबाही थालिएको स्पष्ट पारे।

‘समाचार माध्यमका नाममा अपुष्ट सामग्री दिने, असन्तुलित र पूर्वाग्रहपूर्ण सामग्री पस्किने काम भइरहेका छन्। गालीगलौज, अश्लील र बनावटी सामग्री पनि पाइएका छन्। त्यस्ता कुनैपनि माध्यमलाई काउन्सिलले अब कालो सूचीमा राख्दैछ’ उनले भने।

नयाँ खुलेका अनलाइन दिगो र बलियो बनाउन विश्वसनीय र परिपक्व पत्रकारिता हुनुपर्ने उनको सुझाव थियो।

नयाँ अनलाइन संचालन गर्नुअघि काउन्सिलले नियमित अभिमुखिकरण गर्दै आएको छ।

‘भ्युअर्स’को लोभमा लागेर गलत समाचार लेख्दा देशलाई नै आघात पुग्नेतर्फ उनले सबैको ध्यानाकर्षण गराए।

काउन्सिलका सदस्य दुर्गा भण्डारीले काउन्सिलले जारी गरेका विभिन्न निर्देशिकाबारे जानकारी दिइन्।

उनले अपांगतामैत्री संचार निर्देशिका–२०७३, बालमैत्री संचार निर्देशिका–२०७३, महिला उत्तरदायी संचार निर्देशिका, २०७६ र ज्येष्ठ नागरिकमैत्री संचार निर्देशिका – २०७८ मा भएका प्रावधानबारे प्रशिक्षण दिइन्।

अनलाइनखबर डटकमका सम्पादक बसन्त बस्नेतले विषयगत प्रस्तुति राख्दै प्रविधिको फड्कोले सबैलाई मूलप्रवाहमा ल्याउने अवसर दिएको बताए।

उनले अनलाइन पत्रकारितामा विश्वसनीयताको खडेरी देखिएको, मेहनत र खोजीपना कम हुँदै गएको औंल्याए।

‘काउन्सिलले जारी गरेका आचारसंहिता, पत्रकारिताका आधारभूत पक्ष नभुली कार्यक्षेत्रमा उत्रिए यो पेशामा संभावना अझै छ, सम्पादक बस्नेतले भने।

बस्नेतले सार्वभौमसत्ता, राष्ट्रिय एकता र सामाजिक सद्भावको विषयमा समाचार लेख्दा विशेष ख्याल गर्नुपर्ने बताए।

विभिन्न ४५ वटा अनलाइनका संचालक र सम्पादक सहभागी कार्यक्रममा काउन्सिलका सह–प्रशासकीय अधिकृत रामशरण बोहराले सहजीकरण गरेका थिए।