न्यूज एजेन्सी (रासस) सँग प्रेस काउन्सिल

रचनात्मक र गुणस्तरीय समाचार उत्पादनमा ध्यान दिन रासस पत्रकारलाई काउन्सिल अध्यक्ष बस्नेतको आग्रह

जनसम्मत
जेठ २८, २०८१, सोमबार

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारले रचनात्मक र गुणस्तरीय समाचार उत्पादनमा जोड दिनुपर्ने बताएका छन्।

प्रेस काउन्सिल नेपालले सुरु गरेको संचार माध्यमसँग काउन्सिल अभियानअन्तर्गत राष्ट्रिय समाचार समितिका पत्रकारसँगको छलफलमा अध्यक्ष बस्नेतले गुणस्तरीय समाचारले पत्रकारिताको गरिमा उच्च बनाउनुका साथै समाजमा फैलिएको भ्रमपूर्ण सूचना र अफवाहको समस्या हल गर्न मद्दत पुग्ने उल्लेख गरे।

नेपालको एकमात्र सरकारी समाचार एजेन्सी राससका धेरै जसो समाचार संचार माध्यमले खरिद नगरिकन चोर्ने प्रवृत्ति निरुत्साहित गर्न सम्बन्धित संचार माध्यमले पनि अनुगमन संयन्त्र बनाउन सक्ने अध्यक्ष बस्नेतको सुझाव थियो।

प्रेस काउन्सिलले नियमित संचार माध्यमको अनुगमन, आचारसंहिताको पालना तथा कपि पेस्टको समस्या निरुत्साहनका लागि काम गरिरहेको उनले जानकारी दिए।

उनले पछिल्लो समय युट्युबलगायतका सामाजिक सञ्जालको व्यवस्थापनमा समेत काम भइरहेको उल्लेख गरे।

छलफलमा राससका अध्यक्ष धर्मेन्द्र झाले समाचारको विषयवस्तु जनमुखी र उत्प्रेरक बनाउने सन्दर्भमा समेत काउन्सिलले विशेष कार्यक्रम गर्नुपर्नेमा जोड दिए।

राससका समाचारलाई गुणस्तरीय बनाउन शैलीपुस्तिकाको प्रयोग तथा स्वअनुगमन र स्वनियमन गर्ने गरिएको झाको भनाई थियो।

काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले सहजीकरण गरेको छलफल कार्यक्रममा राससका महाप्रबन्धक सिद्धराज राई, नायब महाप्रबन्धक श्यामप्रसाद रिमाल, प्रधान सम्पादक उत्तम सिलवाल, प्रमुख समाचारदाता एकराज पाठकलगायतले समाचार लेखन र संप्रेषणका विभिन्न समस्याबारे जानकारी गराएका थिए।

यसैबिच काउन्सिलका अध्यक्ष बस्नेतले राष्ट्रिय समाचार समितिमा जारी ‘गणतन्त्रका उपलब्धीः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बीर प्रदर्शनीसमेत अवलोकन गरे।

उनले मुलुक विकास र आर्थिक समृद्धिको बाटोमा कसरी अगाडि बढ्दैछ भन्ने कुरा समाचार र तस्बीरका माध्यमबाट आम जनतालाई सुसूचित गर्न सकिने विषय भएको उल्लेख गरे।