गण्डकी प्रदेशले ल्यायो झण्डै ३२ अर्बको बजेट

चालुतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार रुपैयाँ र पुँजीगततर्फ १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार रुपैयाँ बजेट विनियोजन

जनसम्मत
असार १, २०८१, शनिबार

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि झण्डै ३३ अर्वको बजेट ल्याएको छ।

गण्डकी प्रदेशसभाको आज (शनिबार) को बैठकमा ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार बजेट विनियोजन गरिएको हो।

गण्डकी प्रदेशसभाको बैठकमा प्रदेशका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले प्रस्तुत गरेको बजेटमा चालुतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार रुपैयाँ र पुँजीगततर्फ १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार रुपैयाँ विनियोजन गरिएको उल्लेख छ।

कूल विनियोजनमध्ये चालुतर्फ ३९ दशमलव ९१ प्रतिशत र पुँजीगततर्फ ५९ दशमलव १९ प्रतिशत बजेट हो।

प्रदेश सरकारको वित्तीय व्यवस्थापनतर्फ ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

यसैगरि, बजेटमा आन्तरिक राजस्वबाट ५ अर्ब १७ करोड रुपैयाँ उठाउने लक्ष्य लिएको छ।

संघ सरकारको वित्तीय समानीकरणबाट ७ अर्ब ६३ करोड ८८ लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट ९ अर्ब ६१ करोड रुपैयाँ, सशर्त अनुदानबाट ३ अर्ब १० करोड ११ लाख रुपैयाँ र समपूरक अनुदानतर्फ रोयल्टीवापत ४८ करोड १० लाख रुपैयाँ प्राप्त हुने जनाइएको छ।

यस्तै, संघ सरकारको समपूरक बजेटबाट १ अर्ब १९ करोड रुपैयाँ र विशेष अनुदानबाट ६५ करोड ५५ लाख रुपैयाँको स्रोत व्यवस्थापन हुने छ भने वित्तीय हस्तान्तरणतर्फ प्रदेश सरकारले १ अर्ब १६ करोड रुपैयाँ स्थानीय तहलाई उपलब्ध गराउने आर्थिक मामिलामन्त्री गुरुङले जानकारी दिए।

आगामी आवमा प्रदेश सरकारले १ अर्ब ७० करोड आन्तरिक ऋण लिने जनाइएको छ।

चालु आवमा २ अर्ब ९४ करोड रुपैयाँ मौज्दात रहने र नपुग १ अर्ब ७० करोड आन्तरिक ऋणबाट पूर्ति हुने गुरुङले बताए।

बजेटमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलगायत क्षेत्र प्राथमिकतामा परेका छन्।

कृषि तथा भूमि व्यवस्था मन्त्रालयतर्फ २ अर्ब ९ करोड २१ लाख ७ हजार रुपैयाँ र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतका कार्यक्रम तथा योजनाका लागि ९१ करोड ५१ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।

शिक्षा, खेलुकद, युवा तथा सामाजिक विकासतर्फ ५ अर्ब ४७ करोड ७४ लाख रुपैयाँ, भौतिक पूर्वाधार विकास तथा यातायात क्षेत्रमा १२ अर्ब ७० करोड १६ लाख रुपैयाँ र ऊर्जा, खानेपानी र जलस्रोतको क्षेत्रमा ४ अर्ब २ करोड ५३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

गुणस्तरीय पूर्वाधार तथा उत्पादन अभिवृद्धि, रोजगारी, आयआर्जन, सामाजिक न्याय, समुन्नति र सुशासन अभिवृद्धिको उद्देश्यमा केन्द्रित भएर बजेट ल्याइएको आर्थिक मामिलामन्त्री गुरुङले जानकारी दिए।

 

हेरौं, बजेटको पूर्ण पाठ

Gandaki Budget