‘आमसंचार र समावेशी पत्रकारिता’ पुस्तकमाथि परिचर्चा

(फोनिज) गण्डकीको आयोजनामा नेपाल प्रेस काउन्सिलकी सदस्य दुर्गा भण्डारीद्वारा मुलुकको समावेशी अवस्थासँगै पुस्तकमाथि परिचर्चा

जनसम्मत
असार १२, २०८१, बुधबार

पत्रकार तारामणि सापकोटाद्वारा लिखित अनुसन्धानमूलक पुस्तक ‘आमसंचार र समावेशी पत्रकारिता’ को पोखरामा परिचर्चा गरिएको छ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको आयोजनामा पुस्तकको परिचर्चा गरिएको हो।

कार्यक्रममा पत्रकार तारामणि सापकोटाले पुस्तकमा समावेशिताको सैद्धान्तिक पक्ष तथा सरकारी संचार संस्था र पेसागत संघसंगठनमा समावेशीकरणको वर्तमान अवस्थाबारे तथ्यांकीय विश्लेषण प्रस्तुत गरिएको बताए।

पुस्तकमा नेपालमा समावेशिताको अवस्था, नेपाली संचार क्षेत्रमा समावेशिताको अवस्था, मिडियाले खेल्नुपर्ने भूमिकालगायतका महत्वपूर्ण विषय समेटिएको उनले सुनाए।

नेपाल प्रेस काउन्सिलकी सदस्य दुर्गा भण्डारीले मुलुकको समावेशी अवस्थासँगै पुस्तकमाथि परिचर्चा गरेकी थिइन्।

भण्डारीले पुस्तकमा नेपालमा समावेशिताको अवस्था, नेपाली संचार क्षेत्रमा समावेशिताको अवस्था, मिडियाले खेल्नुपर्ने भूमिकालगायतका महत्वपूर्ण विषयमा तथ्यांकसहित अनुसन्धानमूलक विषय समेटिएको बताइन्।

नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनीले सरकार र राजनीतिक दलहरूले समावेशिताको नारा लगाएपनि व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताइन्।

नेपाली संचार क्षेत्रपनि समावेशिताको अभ्यासमा चुकेको उनको धारणा थियो।

कार्यक्रममा सहभागीहरुले संविधान र कानुनमा व्यवस्था भएका समावेशितासम्बन्धी व्यवस्थाहरू व्यवहारमा कार्यान्वयन हुन नसकेको धारणा राखे।

उनीहरूले संविधानको मर्मअनुसार समावेशी समाज निर्माणका लागि मिडियाले खबरदारी गर्नुपर्नेमा जोड दिए।

यस्तै, पुस्तकमा समाधानका पाटोसँगै कारणको खोजी गर्न उनीहरुले सुझाव दिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष जमुना वर्षा शर्मा, नेपाल दलित संघका केन्द्रीय उपाध्यक्ष दीपक परियार, फोनिज गण्डकीका सदस्य कृष्ण आलेलगायतले जिज्ञासा र सुझाव राखेका थिए।

फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष खिमा गुरुङले स्वागत गरेकी थिइन्।

महासचिव धनबहादुर गुरुङ ‘सुमन’ ले कार्यक्रम संचालन गरेको थिए।