पोखरामा लायन्स रिटर्नी कोरियाको वृक्षरोपण

वर्षाको समयमा घट्न सक्ने संभावित घटनाका लागि क्लबद्वारा उद्दार टोलीको गठन र खाद्यान्न संकलनका लागि फूडबैंकसमेत संचालन

जनसम्मत
असार ३०, २०८१, आइतबार

लायन्स क्लब अफ कोरिया रिटर्नीले पोखरामा वृक्षरोपण गरेको छ।

लायन्स क्लब अफ अन्तराष्ट्रिय ३२५ आई क्लष्टर–२, रिजन–४, जोन–७ अन्तर्गतको क्लबले पोखरा वडा नं १७ स्थित शंकरधाममा तेजपत्ता, चाँप, कल्की र बेगमवली प्रजातिका २५० विरुवाहरु वृक्षारोपण गरेको हो।

प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १७ की वडाध्यक्ष राधिका शाही योगी, वडा सदस्य विक्रम गुरुङ, लायन्स सचिवालय क्लष्टर–२ की प्रमुख लायन भावना बसेल, रिजन चियर पर्सन लायन जीवन श्रेष्ठ, लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ का जोन चियर पर्सन लायन विपिन सुवेदी, लायन्स क्लब अफ कोरिया रिटर्नीका अध्यक्ष लायन ईश्वरबहादुर केसी, क्लबका पदाधिकारी तथा सदस्यहरुले वृक्षारोपण गरेका हुन्।

त्यसैगरी, क्लबले सिद्धार्थ राजमार्गस्थित छोरेपाटन–बिरौटाको डिभाइडरमा बेगमवली प्रजातिका ५५ वटा फूलका विरुवाहरु रोपेको छ।

क्लबका अध्यक्ष लायन ईश्वरबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष प्रसन्न पौडेलले स्वागत मन्तव्य रेवतीरमण सुवेदीले कार्यक्रम संचालन गर्नुभएकाे थियाे ।

यसअघि, क्लबको स्थापनाको अवसरमा क्लबले पोखराको मुख्य ३ नाका कुबिन्डे, कोत्रे र हेम्जाको सुइँखेतमा ट्राफिक नियम, लागुऔषध तथा चेलीबेटी बेचविखन न्यूनिकरणका सचेतनामूलक बोर्डहरु राखेको थियाे।

वर्षाको समयमा घट्न सक्ने संभावित घटनाका लागि क्लबले उद्दार टोलीको गठन र खाद्यान्न संकलनका लागि फूडबैंकसमेत संचालन गरेको छ।

क्लबले उद्दार टोलीको संयोजकमा लायन सर्वोदय ढकाल र फूडबैंकको संयोजकमा एसपी अधिकारी तोकेको छ।