स्पेन, चौथो पटक युरो कप च्याम्पियन बन्यो

योसँगै, स्पेनले १९६४, २००८ र २०१२ मा पनि युरो कपको उपाधि जितेको थियो

जनसम्मत
असार ३१, २०८१, सोमबार

स्पेन चौथो पटक युरो कफ फुटबलको च्याम्पियन बनेको छ।

इंग्ल्याण्डलाई पराजित गर्दै युरोकप–२०२४ को उपाधि जितेसँगै स्पेनले चौथो पटक युरो कप च्याम्पियन बनेको हो।

सोमबार राति १२ः४५ मा भएको फाइनल खेलमा इंग्ल्याण्डलाई २–१ गोलले पराजित गर्दै स्पेनले चौथो पटक युरोकपको उपाधिमाथि कब्जा गरेको हो।

स्पेनका लागि निको विलियम्स र मिकेल ओयार्जाबालले १÷१ गोल गरे।

स्पेनका विलियम्सले खेलको ४७ औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए।

विलियम्सले लामिन यामलको पासमा गोल गरेका थिए।

७३औँ मिनेटमा जुड बेलिङह्यामको पासमा कोल पाल्मरले गोल फर्काउँदै इंग्ल्याण्डका लागि खेल बराबरीमा ल्याए।

तर, निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी छँदा ओयार्जाबालले गोल गर्दै स्पेनलाई जित दिलाए।

मार्क कुकुरेलाले उनलाई गोलको अवसर सिर्जना गरेका थिए।

योसँगै, स्पेनले १९६४, २००८ र २०१२ मा पनि युरो कपको उपाधि जितेको थियो।

यता, इंग्ल्याण्ड लगातार दुई पटक फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको छ।

यसअघिको युरोकपमा इंग्ल्याण्ड फाइनलमा इटालीसँग पराजित भएको थियो।