सम्पादकको योग्यता पुनरावलोकनको तयारी

‘भ्युअर्स बढाएर केही कमाउने लोभमा पत्रकारिता सक्नतिर कोही पनि लाग्न हुँदैन’

जनसम्मत
असार १२, २०८१, बुधबार

प्रेस काउन्सिल नेपालले सम्पादकको योग्यता र मापदण्ड पुनरावलोकनको प्रक्रिया थालेको छ।

डिजिटलसहित विभिन्न संचार माध्यममा सम्पादकको पुरानै योग्यता भएकाले पुनरावलोकन आवश्यकदेखि प्रक्रिया थालिएको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताए।

अध्यक्ष बस्नेतले मंगलबार नयाँ अनलाइन, युट्युब, संचार माध्यमका संचालक, सम्पादकलाई काउन्सिलमै राखिएको अभिमुखिकरण कार्यक्रममा यस्तो बताएका हुन्।

‘प्रविधिले फड्को मारी पत्रकारिताको आयाम र प्रवृत्तिमा व्यापक विस्तार भएको छ। तर, संचार माध्यमको सम्पादकीय नेतृत्व गर्ने सम्पादकको योग्यतामा फेरबदल भएको छैन। सोही कारण हामीले त्यसको योग्यता र मापदण्ड पुनरावलोकन प्रक्रिया थालेका हौँ’, अध्यक्ष बस्नेतले भने।

बस्नेतले पत्रकारलाई गल्ती गर्ने छुट नभएकोतर्फ हरदम ध्यान दिनुपर्ने उल्लेख गरे।

उनले मानवीय कमजोरीले यदाकदा गल्ती भए क्षमायाचनासहित सच्याउन सधै अग्रसर हुन सुझाव समेत दिए।

अभिमुखिकरणमा आचारसंहिताको पाटोमा कान्तिपुर टेलिभिजनका प्रधानसम्पादक विजय पौडेल र विभिन्न संचार निर्देशिका एवं

अनुगमनबारे काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले सहजीकरण गरेका थिए।

पत्रकार पौडेलले भ्युअर्स बढाइ केही कमाउने लोभमा पत्रकारिता सक्नतिर कोही पनि लाग्न नहुने बताए।

पत्रकार आचारसंहिता र पत्रकारिताको धर्म पालना गर्दै अघि बढेमा युट्युबसहित सामाजिक सञ्जालको सदुपयोग हुने उनको सुझाव थियो।