न्यु मिडियाले विश्वसनीय पत्रकारिताको भविष्य उजागर गर्दै

‘न्यु मिडियाले संचार माध्यमबीच ठूलो वा सानो मिडिया भन्ने विभेद मेटाउँदैछ’

जनसम्मत
असार १७, २०८१, सोमबार

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले न्यु मिडियाले विश्वसनीय पत्रकारिताको भविष्य उजागर गरेको रहस्य खोलेका छन्।

काउन्सिलको आयोजना र संचारिका समूहको संयोजनमा आइतबार काठमाडौँमा भएको न्यु मिडिया र पत्रकार महिला (युट्युबसहित सामाजिक सञ्जालको पत्रकारितामा प्रभाव) विषयक अन्तरक्रिया तथा प्यानल छलफलमा बोल्दै बस्नेतले यस्तो बताएका हुन्।

अध्यक्ष बस्नेतले युट्युबलगायत सामाजिक सञ्जालसहितका न्यु मिडियाले संचार माध्यमबीचको ठूलो सानो भन्ने भेद नै मेटाउँदै लगेको दाबी गरे।

अध्यक्ष बस्नेतले भने, ‘न्यु मिडियाले ठूला संचार माध्यम तथा साना संचार माध्यम भन्ने विभेदलाई अन्त्य गरिदिएको र यसले सबैका लागि अवसर सिर्जना गरेको छ।’

उनले नेपालका सन्दर्भमा परम्परागत भनिने संचार माध्यमले पाठकमाझ प्रभावकारी उपस्थिति जनाउन सक्नुपर्ने सुझाव दिए।

त्यसका लागि युट्युबसहित सामाजिक सञ्जालमार्फत द्रुत संप्रेषणको रणनीति त्यस्ता संचार माध्यमले बनाउनुपर्ने उनको सुझाव थियो।

‘हामीले के कसरी काम गर्छौँ, त्यसमा नै निर्भर रहन्छ। हरेक संकटसँगै समाधान र अवसर पनि सँगै आउँछ। हाम्रा संचार माध्यमले विश्वसनीय र छिटो संप्रेषणका लागि रणनीति र प्याकेज ल्याउन सके कि सकेनन् ? त्यो पनि विचारणीय हुन्छ’, बस्नेतले प्रश्न गरे।

अध्यक्ष बालकृष्ण बस्नेतले युट्युबसहितका सामाजिक सञ्जाल न्यु मिडियाको व्यवस्थापनका लागि तत्काल कानुनी अड्चन हटाउनुपर्ने र त्यसका लागि काउन्सिल तयार रहेको स्पष्ट पारे।

‘अहिले नै कानुन ल्याउन सकिँदैन भने प्रेस काउन्सिलका केही दफा फेरौँ र व्यवस्थापन गरौँ, हामी त्यसका लागि सक्षम र तयार छौँ। राज्यले नीति बनाउन र कानुन ल्याउन ढिलाई गर्नुहुँदैन’, उनले आग्रह गरे।

बस्नेतले संचार माध्यमका रूपमा संचालन हुने जुनसुकै प्लेटफर्म र जुनसुकै माध्यमबाट पत्रकारिता कर्म गर्नेहरू पहिलो नियामक निकाय काउन्सिल नै रहेको प्रस्ट्याए।

काउन्सिल व्यक्तिगत रुपमा संचालित नभई मिडिया र मिडियाकर्मीका आवरणमा संचालित न्यु मिडियाको व्यवस्थापनका लागि सक्षम रहेको उनको भनाइ थियो।

कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार बबिता बस्नेतले न्यु मिडियाले भ्रमपूर्ण प्रचारको बढावालाई प्रोत्साहन गर्दा प्रतिष्ठित र विश्वसनीय संचार माध्यमबाट समेत गलत विषय संप्रेषण हुन थालेको भन्दै चिन्ता व्यक्त गरिन्।

नेपालमा संचार माध्यमको विश्वसनीयता र आमधारणाबारे सर्भे गर्न बस्नेतले काउन्सिललाई सुझाव दिइन्।

पत्रकार निर्मला शर्माले विगतमा संचार माध्यममा आफ्ना विषयवस्तु वा विचार समस्यासमेत राख्न स्थान नपाउने जोकोही अहिले आफैँ मिडिया संचालक बन्ने वातावरण न्यु मिडियाले बनाएको बताइन्।

पत्रकार महिलाका लागि न्यु मिडिया अवसरको राम्रो माध्यम भएको उनको भनाइ थियो।

उनले अहिलेको पत्रकारिताको चुनौती भनेकै सामाजिक सञ्जालबाट फैलिएको सूचनालाई आधिकारिक बनाउनु र छिटो संप्रेषण गर्नु रहेको बताइन्।

यस्तै पत्रकार अखण्ड भण्डारीले परम्परागत माध्यमको पत्रकारितालाई नयाँ मिडियाले बाटो देखाउने र बचाउने काम गरेको बताए।

न्यु मिडियासँगै अगाडि बढ्न नसक्दा छापा पत्रकारितामा चुनौती देखिएको उनले प्रष्ट पारे।

‘आफ्नो विषयवस्तु संप्रेषणका छापा माध्यमले न्यु मिडियालाई अवसरका रूपमा प्रयोग गर्न सक्नुपर्छ। पत्रकारिता शिक्षामा व्यवहारिक र समयानुकूल परिवर्तन नहुने हो भने पुरानै पद्दतीमा पत्रकारिता बाँच्न सक्दैन’, भण्डारीको भनाइ थियो।

कार्यक्रममा संचारिका समूहकी पूर्वअध्यक्ष नितु पण्डितले ‘न्यू मिडिया र पत्रकार महिला’ विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन्।

पत्रकार दीपा रेग्मी र दुर्गा खनालले कार्यपत्रमाथि टिप्पणी गरेका थिए।

प्यानल छलफलमा काउन्सिलका अध्यक्ष, बालकृष्ण बस्नेत, अन्नपूर्ण दैनिकका सम्पादक अखण्ड भण्डारी, नारी मासिकका सम्पादक उपासना घिमिरे, नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष अनिता बिन्दु सहभागी थिए।

‘हामी पत्रकार आचारसंहिता पालनामा प्रतिबद्ध छौँ’ भन्ने सामूहिक प्रतिबद्धता जनाएर कार्यक्रमको सुरुवात गरिएको थियो।

संचारिका समूहकी महासचिव बसन्ती बास्तोलो कार्यक्रमको पहिलो सत्रमा सहजीकरण गरेकी थिइन्।

न्युज एजेन्सी नेपालका संचालक कृष्णा पौडेलले दोस्रो सत्रको सहजीकरण गरेका थिए।

संचारिका समूहका अध्यक्ष बिमला तुम्खेवाको अध्यक्षतामा भएको कार्यक्रममा काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालको स्वागत र वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालको धन्यवाद मन्तव्य रहेको थियो।