पोखरा महानगरपालिकाकोे बजेट तथा कार्यक्रम पारित

१० असारको नगरसभामा उपप्रमुख मञ्जु गुरुङद्वारा ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत

जनसम्मत
श्रावण १, २०८१, मंगलवार

पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ।

१५ औँ नगरसभाले महानगरपालिकाको बजेट तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो।

उपप्रमुख मन्जुदेवी गुरुङले १० असारको नगरसभामा ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँ बराबरको बजेट पेस गरेकी थिइन्।

बजेटको स्रोतमा संघीय सरकारबाट अनुदान स्वरूप ४ अर्ब २० करोड २२ लाख १ हजार रपैयाँ, प्रदेश सरकारबाट अनुदान ९ करोड ६३ लाख ८१ हजार रुपैयाँ, आन्तरिक आयबाट १ अर्ब ५५ करोड ५१ लाख ४० हजार रुपैयाँ रहनेछ।

यस्तै, संघीय राजस्व बाँडफाँडबाट ३८ करोड ३३ लाख ७५ हजार रुपैयाँ, प्रदेश राजस्व बाँडफाँडबाट ९ करोड ७२ लाख २० हजार रुपैयाँ, स्थानीय राजस्व बाँडफाँटबाट १ अर्ब १२ करोड ८६ लाख ६१ हजार रुपैयाँ र राजश्व बाँडफाँडबाट ५४ लाख २४ हजार रुपैयाँ रहनेछ।
यस्तै, नगर विकास कोषबाट ४ करोड ४८ लाख ८० हजार रुपैयाँ ऋण लिइने महानगरले जनाएको छ।

आगामी आ.व.को बजेटमा महानगरले पर्यटन, कृषि, उद्योग तथा व्यापार, हरित, दिगो र विपद् उत्थानशील पूर्वाधार विकास, मूल्य श्रृंखला सबलीकरण, बजार प्रणाली सुदृढीकरण, न्यून कार्बन उत्सर्जन तथा कार्बन तटस्थतालाई प्राथमिकतामा राखेको छ।

यस्तै, सरलीकृत र प्रविधिमैत्री सेवा प्रवाह, वातावरणप्रति संवेदनशील र जिम्मेवार समाज निर्माण, नवउद्यम (स्टार्ट–अप) प्रवर्द्धन तथा स्वरोजगार सिर्जना र उद्यमशीलता विकास, स्वास्थ्य र उत्पादनशील जनशक्ति तयारका साथै वित्तीय सुशासन तथा राजस्व परिचालन र महिला, विपन्न र सीमान्तकृत समुदायको आर्थिक सशक्तीकरणमा जोड दिएको छ।

नगरसभाले आर्थिक ऐन २०८१ र विनियोजन विधेयक लगायत सभामा पेस भएका प्रस्तावहरू समेत सर्वसम्मतिले पारित गरेको छ।

पोखरा महानगरपालिकाको पञ्चवर्षीय योजना (०८१/०८२–०८५/0८६) समेत महानगरको १५ औँ अधिवेशनबाट पारित गरिएको छ।

बेरूजु फर्छ्यौट र संपरीक्षणसम्बन्धी विशेष प्रस्ताव समेत पारित गर्दै महानगरले आगामी आर्थिक वर्षलाई बेरूजु फर्छ्यौटको वर्षको रूपमा महत्व दिने भएको छ।