विपत्तिका घटनाप्रति पोखरा महानगरको ध्यानाकर्षण

‘पहिरोमा संपूर्ण परिवार गुमाएका पोखरा–१९ का पवन परियारको महानगरपालिकाद्वारा अभिभावकत्व ग्रहण’

जनसम्मत
असार २९, २०८१, शनिबार

निरन्तरको वर्षाका कारण पोखरालगायत देशभरको जनजीवन प्रभावित भएको छ।

नगर क्षेत्रका कतिपय बस्तीहरू पहिरो र डुबानको जोखिममा परेका छन्।

खोलानालाको डिल भीर, पाखा–पखेरा, वन जंगललगायत उच्च जोखिम रहेका क्षेत्रमा बसोबास गरिरहेका वस्तीहरूमा कुनैपनि बेला विपद्ले भयावह अवस्था सृजना गर्न सक्ने अवस्था प्रति महानगरपालिका सचेत छ।

प्राकृतिक विपद्ले निम्त्याएका अत्यास लाग्दा घट्नाहरुप्रति महानगरपालिकाको गंभीर ध्यानाकर्षण भएको छ।

असुरक्षित/अव्यवस्थित आवास निर्माण र वातावरणीय प्रतिशोधले मानव समुदाय विपद्को उच्च जोखिममा छ।

पछिल्लो समय अकल्पनीय प्राकृतिक विपद्का कारण ठूलो मात्रामा जनधनको क्षति भइरहेका घट्नाहरु देशभर सार्वजनिक भइरहेका छन्।

विपद् जोखिम न्यूनीकरणका लागि सामुदायिक सचेतीकरण सहितको सशक्तीकरणमा महानगरपालिकाको जोड छ।

व्यवस्थित वस्ती र सुरक्षित आवास निर्माण आजको आवश्यकता हो।

पोखरा महानगरपालिका मनसुनजन्य विपद्का घट्नाहरुमा तत्काल उद्धार, राहत, पुनस्र्थापना र घाइतेहरूको उपचार व्यवस्थापनका लागि प्रतिबद्ध छ।

संभावित जोखिमको व्यवस्थापनका लागि महानगरको संपूर्ण संयन्त्र परिचालन गरिएको छ।

विपद् व्यवस्थापनमा क्रियाशील हुने राज्यका अन्य निकायहरू र विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुसँग महानगरले समन्वयसमेत गरिरहेको छ।

अन्त्यमा, पहिरोमा परि ज्यान गुमाउने १० जना नगरवासीहरू प्रति पोखरा महानगरपालिका भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ।

साथै, महानगरपालिकाले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेको छ।

पहिरोमा संपूर्ण परिवार गुमाएका पोखरा १९ का पवन परियारको महानगरपालिकाले अभिभावकत्व ग्रहण गरेको जानकारी गराएको छ।

विपद्का बेला हातेमालो गर्दै यसको व्यवस्थापनमा एकताबद्ध हुन आमनगरवासीहरुमा अनुरोध गर्दै सदैव सचेत रहन पोखरा महानगरपालिका हार्दिक अपिल गर्दछ।