संचार मन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा पदभार ग्रहण

मन्त्री गुरुङ भन्छन्, ‘ठूला कुरा गरेर केही हुँदैन, समस्या समाधान गर्न सकेको काम गर्छु’

जनसम्मत
असार ३१, २०८१, सोमबार

नवनियुक्त संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले संचार तथा सूचना, प्रविधिको सुरक्षित तथा प्रभावकारी प्रयोगका लागि कानूनी र संस्थागत विकास गर्न आवश्यक रहेको औंल्याएका छन्।

सोमबार मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री गुरुङले संचार तथा सूचना तथा प्रविधिको सुरक्षित र प्रभावकारी प्रयोगका लागि डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने निर्णय सदरसमेत गरेका छन्।

उनले सूचना प्रविधिसम्बद्ध निकायको पुनर्संरचना गर्न आवश्यक रहेको सुनाए।

सो विषय राष्ट्रपतिले नीति तथा कार्यक्रममा सम्बोधन गर्नुभएको विषय भएको उनले प्रष्ट पारे।

‘संचार तथा सूचना प्रविधिको सुरक्षित तथा प्रभावकारी प्रयोगका लागि कानूनी र संस्थागत विकास गर्ने योजना रहेको छ। त्यसका लागि डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने भन्ने रहेको छ। सूचना प्रविधिसम्बद्ध निकायको पुनर्संरचना गर्ने भन्ने छ’, गुरुङले भने।

गुरुङले पदभार ग्रहण गरेको दिन आफूले केही पनि नबोल्ने बताए।

पदभार ग्रहण गरेको दिन ठूला–ठूला कुरा गर्ने तर काम केही नगर्ने प्रवृत्ति देखिएकोले त्यसलाई तोड्नुपर्ने गुरुङले बताए।

‘पदभार ग्रहण गर्ने दिन ठूला–ठूला कुरा बोल्ने, कुरा केही बुझेको छैन, आजै बोल्दा हतार हुन्छ, पपुलर हुनलाई धेरै ठूला–ठूला कुरा गरेर पनि हुने कुरा केही छैन’, उनले भने।

मन्त्रालयमा धेरै कुरा आफूले अध्ययन गर्न बाँकी रहेको उनले सुनाए।

आफूले नीतिगत, संस्थागत र संरचनागत अध्ययन गर्न आवश्यक रहेको उनले बताए।

सबै कुरा अध्ययन गरेपछि समस्या समाधानको लागि आफू प्रतिबद्ध भएर लाग्ने मन्त्री गुरुङको प्रतिक्रिया थियो।