कोपा अमेरिका २०२४ः इमिलियानो मार्टिनेजलाई ‘गोल्डेन ग्लोभ्स’

अर्जेन्टिनालाई कीर्तिमानी १६ औं पटक उपाधि दिलाउन मार्टिनेजको ५ खेलमा ‘क्लिन सिट’

जनसम्मत
असार ३१, २०८१, सोमबार

सम्पन्न कोपा अमेरिकामा अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले ‘गोल्डेन ग्लोभ्स’ जितेका छन्।

अर्जेन्टिनालाई कीर्तिमानी १६ औं पटक उपाधि दिलाउन उनले ५ खेलमा ‘क्लिन सिट’ राखेका थिए।

समूह चरणमा अर्जेन्टिनाले क्यानडा तथा पेरुलाई २–० र चिलीलाई १–० गोलअन्तरले पराजित गरेको थियो।

क्वार्टरफाइनलमा भने निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमार्फत विजेताको टुंगो लगाइएको थियो।

इक्वेडरसँगको पेनाल्टी सुटआउटमा मार्टिनेजले २ प्रहार बचाउँदै अर्जेन्टिनालाई ४–२ को जित दिलाएका थिए।

उनले क्यानडाविरुद्धको सेमिफाइनलमा पनि ‘क्लिन सिट’ राखे।

उक्त खेलमा अर्जेन्टिना २–० गोलअन्तरले विजयी भएको थियो।

यस्तै, कोलम्बियाविरुद्ध १–० गोलअन्तरको जित निकाल्दा पनि उनले केही उत्कृष्ट बचाउ गरेका थिए।