गण्डकी प्रदेशमा प्रेस रजिस्ट्रारको खोजी

‘प्रेस रजिस्ट्रारका लागि स्नातकोत्तर उत्तीर्ण गरेको, पत्रकारितामा न्यूनतम १५ वर्षको अनुभव भएको, ३५ वर्षदेखि ६० वर्षसम्मको उमेर हुनुपर्ने प्रावधान छ’

जनसम्मत
श्रावण ४, २०८१, शुक्रबार

गण्डकी प्रदेश सरकार प्रेस रजिस्ट्रार लागि आवेदन माग्ने तयारीमा छ।

त्यसका लागि प्रदेश सरकारले एक समिति गठन गरेको छ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङको संयोजकत्वमा प्रेस रजिस्ट्रार नियुक्तिका लागि समिति गठन गरेका हुन्।

समितिमा अग्रज पत्रकार रवीन्द्र बास्तोला सदस्य र सदस्य सचिवमा मुख्यमन्त्री तथा मन्त्रिपषिद्को कार्यालयका सचिव केशवराज ढकाल छन्।

प्रदेश सचिव सरह मानिने प्रेस रजिस्ट्रारको पदावधि ४ वर्षको हुनेछ।

प्रेस रजिस्ट्रारलाई प्रदेशको आमसंचार माध्यम व्यवस्थापनसम्बन्धी कामको जिम्मेवारी हुनेछ।

प्रेस रजिस्ट्रारका लागि स्नातकोत्तर उत्तीर्ण गरेको, पत्रकारितामा कम्तीमा १५ वर्षको अनुभव भएको, ३५ वर्षदेखि ६० वर्ष उमेर भएको हुनुपर्ने प्रावधान छ।

यिनै प्रावधानमा टेकेर समितिले अब कार्यविधि बनाएर सूचना प्रकाशित गर्नेछ।

आवेदन दिएकामध्ये बढीमा ३ जनाको नाम समितिले मन्त्रिपरिषद्मा पेस गर्ने र त्यसमध्ये १ जनालाई सरकारले नियुक्त गर्ने व्यवस्था छ।

प्रेस रजिस्ट्रार छनोटका लागि २०८० चैत २१ गते तत्कालीन मन्त्री सरस्वती अर्याल संयोजकत्वमा समिति गठन भएको भएपनि सरकार फेरबदलका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन।

प्रदेश आमसंचार विधेयक २०८० फागुन २१ को प्रदेशसभा बैठकबाट पारित भएको थियो।