महिला एशिया कप क्रिकेटमा नेपालको ऐतिहासिक जीत

यूएई ६ विकेटले पराजित, ओपनर ब्याटर सम्झना खड्काले अर्धशतक बनाइन्

जनसम्मत
श्रावण ४, २०८१, शुक्रबार

महिला एशिया कप टी–२० क्रिकेटमा नेपालले ऐतिहासिक जीत निकालेको छ।

आज (शुक्रबार) भएको उद्घाटन खेलमा नेपालले यूएईलाई ६ विकेटले हरायो।

प्रतियोगितामा तेस्रो पटक सहभागिता जनाएको नेपालको यो पहिलो जित हो। यसअघिका
प्रतियोगितामा नेपाल एक खेल पनि नजिती समूह चरणबाटै बाहिरिएको थियो।

यूएईले दिएको १ सय १६ रनको लक्ष्य नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर भेटायो।

नेपालकी ओपनर ब्याटर सम्झना खड्काले अर्धशतक बनाइन्।

उनले ४५ बलमा नट आउट ७२ रन जोडिन्।

यूएईकी कविशा इगोदागेले ३ विकेट लिइन्।

यसअघि, श्रीलंकाको दम्बुलामा टस हारेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनायो।

यूएईकी खुशी शर्माले ३६, कविशा इगोदागेले २२ रन बनाइन्।

नेपालकी कप्तान इन्दु बर्माले ३ तथा सबनम राई, कृतिका मरासिनी र कविता जोशीले समान १÷१ विकेट लिए।

आजदेखि शुरु भएको नवौँ संस्करणको महिला एशिया कप प्रतियोगिताको फाइनल खेल आउँदो जुलाई २८ मा हुनेछ।

नवौँ संस्करणको प्रतियोगिता यस पटक चार टेस्ट र चार एसोसिएट गरी आठ वटा देश सहभागी छन्।

एशिया कपमा नेपाल समूह ‘ए’ मा छ।

यो समूहमा नेपाल, यूएई, भारत र पाकिस्तान छन्।

यस्तै, समूह ‘बी’ मा आयोजक श्रीलंकासहित, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्।