संचारमन्त्री पृथ्वीसुब्बा र अमेरिकी राजदुत थम्सनबीच भेटघाट

थम्सन भन्छन्, ‘सूचना प्रविधि क्षेत्रको विकास र विस्तारका लागि अमेरिकी सरकार नेपाललाई सहयोग गर्न तयार छ’

जनसम्मत
श्रावण ६, २०८१, आइतबार

संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङसँग नेपालका लागि अमेरिकी राजदूत डिन थम्सनबीच शिष्टाचार भेटघाट भएको छ।

भेटघाटमा राजदूत थम्सनले मन्त्री गुरुङलाई कार्यकालको सफलताको शुभकामना दिएका छन्।

त्यस अवसरमा राजदूत थम्सनले सूचना प्रविधि क्षेत्रको विकास र विस्तारका लागि अमेरिकी सरकार नेपाललाई सहयोग गर्न तयार रहेको सुनाए।

संचार तथा सूचना प्रविधि मन्त्रालय मुलुककै महत्वपूर्ण मन्त्रालय भएको बताउँदै राजदूत थम्सनले नेपालको सम्बृद्धिका लागि सूचना प्रविधि क्षेत्रको विकास आवश्यक भएको बताए।

राजदूत थम्सनले प्रकृतिक विपत्तिमा प्रविधिको प्रयोग गरी पूर्व जानकारीका साथै खोज तथा उद्दार गर्न सकिने भन्दै अमेरिका नेपालको साइवर सुरक्षा, पर्यटन सूचनालगायतका क्षेत्रमा सहयोग गर्न तयार रहेको प्रतिबद्धता वनाए।

थम्सनले सूचना प्रविधिको क्षेत्रलाई नेपालले विकास गर्न सके युवा जनशक्ति विदेश जान रोकिने र नेपालले प्रशस्त विदेशी मुद्रा आर्जन गर्न सक्ने जानकारी गराए।

भेटमा मन्त्री गुरुङले वर्तमान सरकारको लक्ष्यनै शान्ति र सम्बृद्धि रहेको जानकारी गराए।

नेपाल सूचना तथा प्रविधिको क्षेत्रमा अमेरिकासँग सहकार्य गर्न तयार रहेको बताए।

प्राकृतिक विपत्तिबाट नेपाल पीडित भएको जानकारी गराउँदै मन्त्री गुरुङले पर्वतारोहणका क्रममा हुने उद्दार तथा खोजमा संचार सम्पर्क आवश्यक रहेको औंल्याए।

नेपालले संचार क्षेत्रमा ठूलो फड्को मारेको उनले उल्लेख गरे।

मन्त्री गुरुङले भने, ‘यो पर्याप्त छैन र संचार क्षेत्रलाई आय–आर्जन र रोजगारीसँग जोड्नु पर्ने बताए। युवाशक्ति पलायन मुलुकको चुनौति छ। सूचना प्रविधिको विकास र विस्तारले युवा शक्तिलाई मुलुकमै रोक्न सकिन्छ। त्यसका लागि अमेरिकासँग सहकार्य हुन सक्छ।’