मर्यादित मिडियाले नागरिकको सम्मान जोगाउँछ : राष्ट्रपति पौडेल

प्रेस काउन्सिल नेपाल अध्यक्ष बालकृष्ण बस्नेत भन्छन्, ‘अबको पत्रकारिताको धार समाधानमुखी र रचनात्मक बनाउन विभिन्न संवाद श्रृंखलाहरु काउन्सिलले थालेको छ’

जनसम्मत
श्रावण २१, २०८१, सोमबार

राष्ट्रपति रामचन्द्र पौडेलले मिडियाको मर्यादित भूमिकाबाट मात्र आम नागरिकको मर्यादा र सम्मान जोगिने बताएका छन्।

त्यसका लागि प्रेस काउन्सिल नेपालको भूमिका अहम् हुने उनको भनाई छ।

सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा काउन्सिलका पदाधिकारीसँग भेट्दै राष्ट्रपति पौडेलले नयाँ मिडियासहितले ल्याएका चुनौतिलाई सम्बोधन गर्नेगरी काउन्सिलले आफ्ना गतिविधि केन्द्रीत गर्नुपर्ने सुझाव दिए।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतसहितको टोलीले नेपाली मिडियामा देखिएका पछिल्ला प्रवृत्ति, समस्या, नयाँ प्रयोगबारे संक्षिप्त रुपमा अवगत गराएको थियो।

अध्यक्ष बस्नेतले युट्युवसहित सामाजिक सञ्जालमार्फत चलेका संचारमाध्यमलाई नियमन गर्न काउन्सिलले विभिन्न कार्य गर्दै आएको जानकारी दिए।

अबको पत्रकारिताको धार समाधानमुखी र रचनात्मक बनाउन विभिन्न संवाद श्रृंखलाहरु काउन्सिलले थालेको उनले सुनाए।

भेटमा काउन्सिलका तर्फबाट अध्यक्ष बस्नेत, बोर्ड सदस्यहरु दुर्गा भण्डारी पौडेल, लालबाबु शेष, रामप्रसाद दाहाल र मुख्य अधिकृत झबिन्द्र भुसाल थिए।

साथै, राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेल भेटमा सहभागी थिए।