तनहुँस्थित भानुभक्त प्राणी उद्यानका जग्गाधनीहरु कडा आन्दोलनमा उत्रिएका छन्।
प्राणी उद्यानका लागि जग्गा उपब्ध गराएर योगदान गरेका प्रभावित जग्गाधनीहरुले हालसम्म पनि जग्गाको मुआब्जा नपाएपछि आन्दोलित बनेका हुन्।
मुआब्जा पीडित संघार्ष समितिको आयोजनामा आज (आइतबार) देखि जग्गाधनीहरुले मुआब्जाको माग राख्दै आन्दोलनमा उत्रिएका हुन्।
यसअघि, साउनको गत १८ गते बसेको जग्गाधनीहरुको वृहत् भेलाले आन्दोलन गर्ने निर्णय गरेको थियो।
जग्गाधनी समन्वय समिति र संघर्ष समितिले जिल्ला प्रमुख अधिकारी तथा जिल्ला प्रहरी प्रमुखसमक्ष आन्दोलनसम्बन्धी जानकारी गराएको थियो।
उनीहरुले आइतबार आन्दोलनका रुपमा धर्ना, तालावन्दी र राजमार्गमा चक्काजाम गरे।
व्यास नगरपालिका छिर्कनस्थित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग मातहतको भानुभक्त प्रााणी उद्यान कार्यालयमा कर्मचारीलाई बाहिर निकालेर तालावन्दी गरे।
त्यस्तै, पृथ्वी राजमार्गमा आधा घण्टा चक्का जाम गरे।
प्रााणी उद्यान कार्यालयमा ताला लगाएपछि उनीहरुले ‘अविलम्ब मुआब्जा दे सरकार’ लगायतका नारा लगाएर धर्ना कसे।
तत्कालीन जिल्ला प्रशासन कार्यालयल ४ वर्षअघि मुआब्जा तोकेरपनि हालसम्म जग्गाधनीहरुले मुआब्जा पाएका छैनन्।
तत्कालीन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा मुआब्जा निर्धारण समितिले ४ वर्ष अघि मुआब्जाको रकम टुंगो लगाएको बताउँदै भानुभक्त प्रााणी उद्यान जग्गाधनी समन्वय समितिका संयोजक हर्कबहादुर कार्कीले सरकारले बजेट निकासा नगरेपछि आफूहरु आन्दोलनमा उत्रनु परेको बताए।
जग्गाधनीहरुले अविलम्ब मुआब्जा पाउनुपर्ने कार्कीले माग राखे।
‘बजेट अभावमा प्रभावितले हालसम्म मुआब्जा रकम पनि पाउन सकेका छैनन्। प्राणी उद्यानका लागि आवश्यक पर्ने जग्गा रोक्का हुँदा प्रभावितले आफ्नो जग्गालाई आफूखुशी गर्न पनि पाएका छैनन्। प्रभावितहरु दोहरो मर्कामा छन।’, कार्कीको भनाई छ।
चरणबद्ध रुपमा तत्कालीन राज्यका निकायहरु राष्ट्रपति, प्रधानमन्त्री, वन मन्त्री, अर्थमन्त्री र राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण विभागलगायतका कर्मचारीसमक्ष पुगेर आफ्ना मागहरु राखिएको र हालसम्म मागहरु सम्बोधन नगरिएको कार्कीले सुनाए।
‘प्रााणी उद्यान जस्तो राष्ट्रिय गौरवको आयोजनालाई स्वतः स्फूर्त योगदान गरेका जनताहरु मुआब्जा पाउनबाट ठगिएका छन्’, कार्कीले भने, ‘अब पनि आफूहरुलाई अल्मल्याउन पाइँदैन। अविलम्ब मुआब्जा छिटो उपलब्ध गराइयोस।’
मुआब्जा संघर्ष समितिका अध्यक्ष प्रकाश मल्लले निर्णायक विन्दुमा नपुगि आन्दोलन नरोकिने उद्घोष गरे।
मल्लले भने ‘आन्दोलन रहर नभई, आफूहरुको अधिकार साथसाथै बाध्यता हो। पटक–पटक सरकार र सरकार प्रमुखबाट हामीहरु ठगिएका छौं। मुआब्जाको लागि अब, आन्दोलनलाई निर्णायक मोडमा पु¥याएरै छाड्नेछौं।’
संघर्षका कार्यक्रमअनुसार भोली (सोमबार) र पर्सि (मंगलबार) गरी २ दिन तनहुँको जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम रहेको संघर्ष समिति अध्यक्ष मल्लले जानकारी दिए।
‘संघर्षका थप कार्यक्रमहरु पछि तय गर्नेछौं’, मल्लले थपे।
आन्दोलनमा सहभागी गीता शाहीले स्थानीय प्रभावितहरु आन्दोलित बनिरहनुले राज्यको राम्रो सन्देश नदिने बताइन्।
शाहीले भनिन्, ‘प्राणी उद्यानका लागि धेरै संरचनाहरु बनिसके। तर, स्थानीयले पाउनुपर्ने मुआब्जा नपाउनु दुःखद छ। त्यसका लागि अब प्रभावितहरुका संघर्षले नै निर्णायक गराउनेछ।’
त्यसैगरी, जग्गाधनी पीडितहरुको मागलाई छिटो भन्दा छिटो सम्बोधन गर्न जग्गाधनी हरी कार्कीको आग्रह छ।
जग्गाधनी राधा पन्थले आन्दोलनमा एकीकृत हुन जग्गाधनीहरुलाई आग्रह गरिन्।
रैथाने र गैररैथाने वन्यजन्तुको संरक्षण गर्ने वन्यजन्तु संरक्षणमार्फत आमोद–प्रमोद प्रदान गर्ने, वन्यजन्तुको वैज्ञानिक अध्ययन, अनुसन्धान गर्ने उद्देश्यसहित स्थापना गरिएको प्राणी उद्यानले ७ वर्ष अघिदेखि जग्गा अधिग्रहणको कार्यलाई अघि बढाएको थियो।
तनहुँको व्यास नगरपालिका वडा नं ११ र १२ तथा भानु नगरपालिकाको वडा नं ५ र ६ लाई समेटेर १५६ जग्गाधनीहरुले आफ्ना नाममा रहेको जग्गाधनी पुर्जा सो उद्यानलाई ६ वर्षअघि बुझाएका थिए। हाल, ति जग्गाहरुमा उद्यानका भौतिक संरचना बनिसकेका छन्। सबै जग्गाहरु जग्गाधनीहरुका लागि रोक्का राखिएका छन्।
उद्यान क्षेत्रभित्र ३९.३६ हेक्टर खेतियोग्य जमिन, २३.६४ हेक्टर खोलानाला क्षेत्र, ३५६ हेक्टर बन क्षेत्र र १६ हेक्टर अन्य क्षेत्र गरी ४२५ हेक्टर जमिन उद्यानका लागि अधिग्रहण गरिएको छ।
उद्यानका लागि ८ सामुदायिक बन्, ५ कबुलियति बन र १४३ कित्ताहरुको नीजि नम्बरी जग्गा, निजी नम्बरी जग्गामा बनेका ५ घरहरु र ऐलानी जग्गाहरु अधिग्रहणमा परेको छ।
उद्यानका लागि अधिग्रहण गरिएका १४६ जग्गाधनीहरुको निजी जग्गामध्ये ४९७ रोपनी २ आना, १ पैसा ०५ दाम खेत र ४६४ रोपनी ०४ आना, ०३ पैसा, ०३ दाम पाखोबारी परेको छ।
निजी नम्बरी जग्गा र घरको क्षतिपूर्तिका लागि ४ वर्षअघि तनहुँका तत्कालीन प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेका मुआब्जा निर्धारण समितिको बैठकले मुआब्जाको रकम समेत तोकेको थियो।
जसमध्ये, भानु प्राणी उद्यानको चारकिल्लाभित्र पर्ने निजी घर जग्गाको मुआब्जाको जम्मा मुल्यांकित रकम ४६ करोड ६० लाख, २७ हजार, २७ रुपैयाँ ९१ पैसा हुन आउँछ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष आयोजनाअन्तर्गत भानुभक्त प्राणी उद्यानको चारकिल्लाभित्रको सीमानामा तार–बार लगाउने, उद्यानको कार्यालय भवन, कार्यालय परिसरमा बगैचा, पृथ्वी राजमार्गबाट (ग्राभेलिङ र ग्रेनेजसहित) को कार्यालय जाने मोटर बाटो, प्रतिक्षालयसहितको गोलघर, भू–टावर (मचान), वन्यजन्तु अनुगमनका लागि (वनपथ, गोरेटो बाटो र अग्नीरेखा), साइनबोर्ड र सूचना बोर्डको निर्माण र स्थापना गर्ने काम सम्पन्न गरि सकिएको उद्यान कार्यालयले जनाएको छ।
उद्यान कार्यालयअनुसार उद्यानका चारकिल्लाभित्र फोहरमैला व्यवस्थापन तथा सरसफाई, जनचेतना अभिवृद्धि तथा सीप विकास कार्यक्रम, प्रााणी उद्यानसम्बन्धी सूचना प्रकाशन, प्रचार–प्रसार, स्कूल शिक्षा कार्यक्रम तथा ईको क्लब संचालनका कार्यक्रमहरु गरिदै आएको छ।
त्यस्तै, उद्यानका संरक्षित क्षेत्रका सरोकारवालाहरुसँग अन्तरक्रिया, बन डढेलो व्यवस्थापन, मानव वन्यजन्तु द्वन्द न्यूनिकरणसम्बन्धी सचेतना र वन्यजन्तु सप्ताहका कार्यक्रमहरु गरिदै आएको उद्यान कार्यालयले जनाएको छ।
प्राणी उद्यानको विकासका लागि गुरुयोजना बनिसकेका छन्।
गुरुयोजनाअनुसार उद्यानभित्र २ ईलाका, ४ क्षेत्र र ८ शाखा कल्पना गरिएको छ।
इलाकाअन्तर्गत संरक्षण इलाका र उपयोग ईलाका रहनेछ।
क्षेत्रअन्तर्गत प्रशासनिक, प्रदर्शनी, शान्ति (अध्यात्मिक), उद्दार र अनुसन्धान रहनेछ।
शाखाअन्तर्गत ठूला साकाहारी, साना साकाहारी, पंक्षी, सर्वहारी, सरीसृप, साना स्तनधारी, मांसाहारी र भालु शाखाको कल्पना गरिएको छ।
प्राणी उद्यानले २९७.४७ हेक्टर संरक्षण ईलाका र १२७.५३ उपयोग ईलाका निर्धारण गरेको छ।
संरक्षण इलाकाभित्र घना वन क्षेत्र, भिरालो र पहुँच नभएको क्षेत्र पर्दछ भने उपयोग इलाभित्र कम भिरालो तथा पानीको स्रोत पर्दछ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा प्रााणी उद्यान घोषणा गर्ने प्रावधान छ।
प्राणी उद्यानले गुरुयोजना प्रतिवेदन (डीपीआर) निर्माण, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा प्रााणी उद्यान स्थापना र व्यवस्थापनसम्बन्धी व्यवस्था गर्न पहल गर्ने विषयलाई प्राथमिकतामा राखेको छ।
प्राणी उद्यान आसपासमा ६६ भन्दा बढि वनस्पति प्रजाति, १५ भन्दा बढि स्तनधारी, १८५ भन्दा बढि पंक्षीहरु र ७ भन्दा बढि घस्रने तथा उभयचर वन्यजन्तु प्रजातीहरु पाइन्छ।
गण्डकी प्रदेशको दक्षिण पूर्वी भेगमा पर्ने तनहुँ जिल्लास्थित यस प्रााणी उद्यान पृथ्वी राजमार्गसँग जोडिएकोले यातायातको सहज पहुँचमा छ।
ठूलो क्षेत्र, उपयुक्त भू–बनोट र हावापानीका साथै प्रशस्त पानीको स्रोत भएकोले नेपालको भौगोलिक विविधताअनुसार पाइने वन्यजन्तुहरुको उपयुक्त वासस्थान मानिन्छ यो प्राणी उद्यान।
महत्वपूर्ण ऐतिहासिक, साँस्कृतिक र धार्मिक क्षेत्र, जातीय विविधताको दृष्टिले समेत यस प्रााणी उद्यान बन्दिपुर, पोखरा र लुम्बिनीलगायत प्रमुख पर्यटकीय गन्तव्यहरुको नजिकमा हुनु नै यस प्राणी उद्यानको संभावना र अवसर दुबै छ।