पोखरामा ७८ औं भारतीय स्वतन्त्रता दिवस मनाइयो

‘भारतीय स्वतन्त्रताको लडाईमा नेपालीद्वारा दिइएको बलिदान अभूूतपूर्व छ’

जनसम्मत
श्रावण ३१, २०८१, बिहीवार

पोखरामा ७८ औं भारतीय स्वतन्त्रता दिवस मनाइएको छ।

७८ वर्षअघि अंग्रेज साम्राज्यबाट अलग भएको भारत अहिले एउटा बलियो गणतन्त्रात्मक विश्वशक्तिको रूपमा स्थापित भइसकेको छ।

विश्वको सबैभन्दा ठूलो लोकतन्त्रका रूपमा उदाएको भारतलाई सफलतासाथ संसदीय राजनीतिक पद्धतिको स्थायित्वको उदाहरण मानिन्छ।

सो अवसरमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुु कुमार थापाले कार्यक्रमको उद्घाटन गरे।

कार्यक्रममा बोल्दै मन्त्री थापाले भारतीय स्वतन्त्रताको लडाइँमा नेपालीद्वारा दिइएको बलिदान अभूतपूर्व भएको बताए।

‘भारतको विकासमा नेपालको ठूलो योगदान छ। चाहे भारतको स्वतन्त्रताको मन्त्री थापाले भने, ‘लडाइँमा होस् वा भारतीय सीमाको सुरक्षामा होस्, नेपालीद्वारा दिइएको बलिदान अभूतपूर्व छ।’

नेपाल–भारत सम्बन्ध प्राचीन भएको बताउँदै उनले त्यो सम्बन्ध गौरवपूर्ण अतीतले भरिएको उल्लेख समेत गरे।

नेपालको भौगोलिक विशिष्टता तथा समान आर्थिक–सामाजिक परिवेशका कारण हिन्दुस्तानका प्रायः सबै राज्यसँग कुनै न कुनै प्रकारको सम्बन्ध भएको उनले बताए।

मन्त्री थापाले नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी भएको दाबी गरे।

‘सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण छ’, भनाई उनको छ।

भारतले द्विपक्षीय सहयोग अन्तर्गत स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरेको सहयोगको मन्त्री थापाले प्रशंसासमेत गरे।