‘जनउत्तरदायी सरकारका लागि संचारमाध्यमको खबरदारी’

संचारमन्त्री पृथ्वीसुब्बा गुरुङ भन्छन्, ‘तर, एक पक्षीय रुपमा विरोध मात्रै गर्नु निष्पक्ष पत्रकारिता होइन, संचारमाध्यम र स्वयं पत्रकार पनि रचनात्मक बन्नुपर्छ’

जनसम्मत
श्रावण ३२, २०८१, शुक्रबार

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्बी सुब्बा गुरुङले सरकारलाई जनउत्तरदायी र जिम्मेवार बनाउन संचार माध्यमले निरन्तर खबरदारी गरिरहनुपर्नेमा जोड दिएका छन्।

राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयमा स्थापना गरिएको ‘रासस मिडिया संग्रहालय’को आज शुभारम्भ गर्दै उनले सरकारलाई जनताप्रति जिम्मेवार बनाउन पत्रकारले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए।

‘सरकार र जिम्मेवार पदाधिकारीको गलत कामको कटु आलोचना गर्नुपर्छ’, मन्त्री गुरुङले संचारमाध्यमका भूमिकाबारे स्पष्ट पारे।

सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले भने, ‘तर, एक पक्षीय रुपमा विरोध मात्रै गर्नु निष्पक्ष पत्रकारिता होइन। संचारमाध्यम र स्वयं पत्रकार पनि रचनात्मक बन्नुपर्छ।’

उनले सत्य, तथ्य र निष्पक्ष पत्रकारिताको विश्वव्यापी सिद्धान्त भएपनि पछिल्लो समय स्वतन्त्र पत्रकारिता व्यक्ति केन्द्रीत आलोचनामा सीमित भएकोमा चिन्ता व्यक्त गरे।

पत्रकारिता क्षेत्रले वस्तुनिष्ठ र अनुशासित भएर आफ्नो भूमिका निर्वाह गरे मात्रै सरकार उत्तरदायी र जिम्मेवार हुने मन्त्री गुरुङले उल्लेख गरे।

मन्त्री गुरुङको भनाई छ, ‘संचारमाध्यमको भूमिका प्रतिपक्षी हुनुपर्छ। गलत काममाथि प्रश्न उठाउनुपर्छ। सही र गलत छुट्टयाउन सक्नुपर्छ। सरकार र समाजलाई सभ्य बनाउन केन्द्रीत हुनुपर्छ।’

जनताको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन पनि संचारमाध्यमले सरकारलाई खबरदारी गर्नु अपरिहार्य रहेको मन्त्री गुरुङको भनाई थियो।

‘वर्तमान सरकार जनताप्रति बढी उत्तरदायी र जवाफदेही हुन खोजिरहेको छ। यसतर्फ, संचार जगतको रचनात्मक सहयोग आवश्यक छ’, उनले भने।

उनले अमर्यादित अभ्यासले सिंगो पत्रकारिता क्षेत्रमाथि नै प्रश्न उठिरहेको सन्दर्भमा पत्रकारितालाई व्यवस्थित, मर्यादित तथा रचनात्मक बनाउन सबै पक्ष सजग र सचेत हुनुपर्ने धारणा राखे।

प्रवक्ता गुरुङले वर्तमान सरकारले अनावश्यक प्रचार नखोजेको स्पष्ट पारे।

सरकारका जनपक्षीय कामलाई जनतासमक्ष लग्न भने मिडियाले सहयोग गर्नुपर्ने उनले उल्लेख गरे।

‘मिडिया कन्टेन्ट’ उत्पादन केन्द्रका रुपमा रहेको राससले आफूलाई व्यवस्थित, सिर्जनशील र प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा मन्त्री गुरुङले जोड दिए।

उनले राससलाई संचार क्षेत्रको अभिभावकको भूमिका निर्वाह गर्न निर्देशन दिए।

राससले स्थापना गरेको मिडिया संग्रहालयबाट संचार क्षेत्रको विकासको अध्ययन गर्न महत्वपूर्ण सहयोग मिल्ने मन्त्री गुरुङको विश्वास छ।

‘मिडिया संग्रहालय’ को स्थापना गर्नुले पछिल्लो पुस्ताका लागि महान काम भएको उल्लेख गरे।

संचार मन्त्रालयका सचिव राधिका अर्यालले रासस लामो इतिहास भएको संस्थाका रुपमा रहिआएको उल्लेख गरिन्।

राससले गरेका कामलाई समय क्रमसँगै हेर्ने हो भने मिडिया विकासको जीवन्त अवस्था चित्रण हुने उनले बताइन्।

व्यवस्थापकीय मात्र नभई सिर्जनशील काममा पनि केन्द्रीत हुन रासस व्यवस्थापनलाई सचिव अर्यालले निर्देशन दिइन्।

उनले समाचारका विषयवस्तुको विविधीकरणमा समेत ध्यान दिन राससलाई आग्रह गरिन्।

सचिव अर्यालले भनिन्, ‘राससको स्थापनाकालदेखि हालसम्मका बाटोलाई संग्रहालयले दृश्यात्मक रुपमा प्रस्तुत गरेको छ।’

वरिष्ठ पत्रकार राजेन्द्र दाहालले नेपालको मिडिया विकासको इतिहासलाई जीवन्त बनाउन संग्रहालयको अवधारणा कार्यान्वयनमा लैजानु रासस व्यवस्थापनको सकारात्मक पहल भएको उल्लेख गरे।

उनले संचार उपकरणसँगै उत्पादित समाचारका विषयवस्तु पनि प्रदर्शनीमा राख्नु उपयुक्त हुने सुझाव दिए।

‘संग्रहालयमा सुरुआतदेखि वर्तमानसम्मको स्पष्ट प्रस्तुति हुनुपर्छ। राससको बुलेटिन, भाषा, शैली पुस्तिकासमेत समेट्नुपर्छ’, पत्रकार दाहालको सुझाव छ।

वरिष्ठ पत्रकार एवं प्राध्यापक रामकृष्ण रेग्मीले मिडिया संग्रहालय स्थापना गरेर राससले ऐतिहासिक काम गरेको उल्लेख गरे।

उनले संग्रहालयमा मिडिया उपकरणसँगै ‘मिडिया कन्टेन्ट’लाई पनि समेट्न सुझाव दिए।

रेग्मीको सुझाव छ, ‘ऐतिहासिक सामग्रीको संकलन, संरक्षण र त्यसको उचित प्रस्तुतीकरणसहित प्रदर्शनीमा राख्नु उचित हुनेछ।’

त्रिभुवन विश्वविद्यालय, आमसंचार तथा पत्रकारिता केन्द्रीय विभागका विभागीय प्रमुख डा कुन्दन अर्यालले राससको संग्रहालयले ऐतिहासिक सामग्री संग्रहको संस्कृतिलाई बढावा दिएको बताए।

‘पुराना सामग्रीको ‘आर्काइभ’मा समस्या छ। मिडियाका सामग्रीको संग्रहमा सबैले ध्यान दिनुपर्छ। संस्कृति र स्मृतिलाई जीवन्त राख्ने काम गरौँ’, अर्याले थपे।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले संग्रहालयले नेपालको मिडिया विकासका सम्बन्धमा अध्ययन गर्न नयाँ पुस्तालाई सहयोग गर्ने विश्वास व्यक्त दिलाए।

मिडिया प्रविधिमा आएका तीव्र परिवर्तनका कारण पनि ती उपकरण संरक्षणका लागि संग्रिहालय स्थापना गरिएको उनको भनाई छ।

राससले सेवा विस्तार र विविधीकरण गर्दै गइरहेको उनले उल्लेख गरे।

कार्यकारी अध्यक्ष झाले जानकारी दिए, ‘राससले आगामी भदौ महिनादेखि २४ सै घन्टा समाचार संप्रेषणको तयारी गरिरहेको छ।’

राससका महाप्रबन्धक सिद्धराज राईले राससले ६३ वर्षको अवधिमा प्रयोग गरेका ४६ प्रकारका सामग्री संग्रहालयमा राखिएको जनाए।

राईले भने, ‘मिडिया संग्रहालय नेपालको मिडिया विकासक्रमको विषयमा अध्ययन, अनुसन्धान गर्ने अनुसन्धानकर्ताका लागि उपयोगी हुने विश्वास छ।’

रासस संचालक समिति सदस्य शंकर खरेलले नयाँ पुस्ताका लागि मिडिया विकासको अध्ययन गर्न संग्रहालयले सहयोग गर्ने विश्वास व्यक्त गरे।

राष्ट्रिय मुद्रा संग्रहालय छाउनीका प्रमुख सुवास डंगोलले पुराना ऐतिहासिक सामग्रीको संग्रह गर्नु सकारात्मक काम भएको उल्लेख गरे।

राससका नायब महाप्रबन्धक राजु शाक्यले संग्रहालयमा राससले स्थापनाकालदेखि उपयोगमा ल्याएका ऐतिहासिक सामग्री राखिएको बताए।