इन्द्रधारा बिष्टलाई ‘हाई अल्टिच्युड’ गल्फको उपाधि

महिलातर्फको उपाधि पोखराकी बालकाशी गुरुङलाई

जनसम्मत
भाद्र १, २०८१, शनिबार

गण्डकी प्रदेशका पूर्व प्रदेशसभा सदस्य इन्द्रधारा बिष्टले तेस्रो मुस्ताङ गल्फ प्रतियोगिताको उपाधि जितेका छन्।

विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा आयोजना गरिएको गल्फ प्रतियोगितामा विजयी विष्टले ९ होलको खेलमा ३ अण्डर हान्दै २१ स्कोर बटुले।

त्यस्तै, ३ होलमा पार, १ मा त्रिपल बुगी र ५ होलमा बुगी खेले।

५ होलमा पार, एउटामा डबल बुगी र बाँकी ३ होलमा बुगी हिर्काउँदै २ अण्डर २० स्कोर प्राप्त गरेका नेपाल गल्फ एशोशिएसनका उपाध्यक्षसमेत रहेका फुर्साङ लामा दोस्रो बने।

प्रतियोगिताका चिफ मार्सल भुवन गुरुङका अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको प्रतिनिधित्व गरेका निर्मल श्रेष्ठले १४ स्कोरसहित पुरुषतर्फको ग्रस उपाधि जितेका छन्।

यसअघिका २ वर्ष लगातार उपाधि जितेका काठमाडौँका गल्फर श्याम तामाङको ह्याट्रिक गर्ने लक्ष्य भने पूरा हुन सकेन।

समुद्री सतहबाट ४ हजार ६ सय ४५ मिटर उचाईमा अवस्थित लोमान्थाङ गाउँपालिकाको लोवथाङमा मुस्ताङ गल्फ कोर्सले आयोजना गरेको प्रतियोगिताको महिलातर्फको उपाधि भने पोखराकी बालकाशी गुरुङले जितिन्।

महिलातर्फको उपाधि जितेकी बालकाशी गुरुङले ५ अण्डर २३ स्कोरको नतिजा निकालेकी थिइन्।

त्यसैगरी, ४ अण्डर २२ स्कोर प्राप्त गरेकी धरानकी झुना राई दोस्रो बनिन्।

संयोग शाहीले ‘लङगेष्ट ड्राइभ’ हिर्काइन् भने महिला गल्फर मेदाङ लामाले ‘क्लोजेष्ट टु दी पिन’को ट्रफी पाइन्।

याक पुरस्कार राखिएको ‘होल इन वान’ कसैले जितेनन्।

यस प्रतियोगिता विश्वकै उच्च स्थानको गल्फ प्रतियोगिता भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले दाबी गरेका छन्।

प्रतियोगितामा सहभागी हुनका लागि काठमाडौँ, पोखरा, धरानलगायत सहरका ३५ जना गल्फ खेलाडी लोमान्थाङ पुगेका थिए।

विजयी खेलाडीलाई लोमान्थाङ गाउँपालिकाका अध्यक्ष गुरुङले ट्रफी वितरण गरे।

 

लोवथाङ गल्फ कोर्सलाई सहयोग

 

सो अवसरमा लोवथाङ गल्फ कोर्सको स्तरोन्नतिका लागि हिमालयन टाइगर गल्फ क्लब सेयाटल पोर्टल्याण्डका अवैतनिक महावाणिज्यदूत एसी शेर्पाले १ हजार डलर आर्थिक सहयोग गरेका छन्।

तीन वर्षअघि निर्माण गरिएको कोर्षलाई गिनिज बुक (विश्व कीर्तिमान) मा रेकर्ड गराउने प्रयासस्वरुप तेस्रोपटक प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताएका छन्।

यसअघि भारतको सिक्किममा ३ हजार ९ सय ७० मिटर उचाईमा रहेको याक गल्फ कोर्षलाई सर्वाधिक उचाईको गल्फ कोर्ष मान्ने गरिएको थियो।

लोवथाङ गाउँपालिकाको केन्द्र लोमान्थाङ बजारबाट पश्चिम डोल्पा जाने बाटोमा पर्छ।

त्यहाँसम्म पुग्न सडक विस्तार भइसकेको छ।

करिब तीन किलोमिटर फराकिलो समथर खुला क्षेत्रमा घाँसेमैदानमा गल्फ खेलका लागि मैदान बनाइएको छ ।

गल्फका लागि टिबक्स, फेयरवे र ग्रीन, फ्रन्टलाइन र ब्याकलाइनको टिबक्सलगायत संरचना बनाइएको छ।

गल्फ खेलमैदान पुग्न लोमान्थाङबाट १२ किलोमिटर सडकयात्रा गर्नुपर्छ।

सवारीसाधनबाट लोमान्थाङदेखि ३० मिनेटमा पुग्न सकिन्छ।