पेरिस ओलम्पिकमा सुटिङकी सुस्मिता पहिलो चरणबाटै बाहिरिन्

महिला १० मिटर एयर राइफलमा सुस्मिताले कूल ६५४ अंकमा ६०७.८ अंक जोडिन्

जनसम्मत
श्रावण १३, २०८१, आइतबार

नेपाली सुटिङ खेलाडी सुस्मिता नेपाल पेरिस ओलम्पिकमा पहिलो चरणबाटै बाहिरिएकी छिन्।

पेरिस ओलम्पिक–२०२४ को महिला १० मिटर एयर राइफलमा आइतबार ४२ औँ स्थानमा रहिन्।

कुल ४३ प्रतिस्पर्धी मध्ये सुस्मिताले ४२ औँ स्थान हासिल गरेकी हुन्।

शरणार्थी टोलीकी लुना सोलोमन अन्तिम अर्थात ४३ औँ स्थानमा रहिन्।

पेरिसदेखि स्थलमार्गबाट करिब ३ घण्टा टाढा रहेको चतरोक्स सुटिङ रेन्जमा भएको खेलमा सुस्मिताले कूल ६५४ अंकमा ६०७.८ अंक जोडिन्।

सुस्मिताले पहिलो सिरिजमा १०४.५, दोस्रोमा १०१.७, तेस्रोमा १००.७, चौथोमा ९९.९, पाँचौँमा १०२.२ र छैटौँमा ९८.२ अंक जोडिन्।

शीर्ष ८ मा रहने खेलाडी मात्र फाइनल पुग्ने प्रावधान रहेकाले यो हारसँगै सुस्मिताको चुनौती समाप्त भएको छ।

यो स्पर्धामा सुस्मिताकै नाममा कूल ६५४ अंकमा ६१९.१ अंकको राष्ट्रिय कीर्तिमान छ।

नेपालमै भएको चीनको हाङझावमा भएको १९ औँ एसियाली खेलकुदको खेलाडी छनोट प्रतियोगितामा सुस्मिताले उक्त कीर्तिमान बनाएकी थिइन्।

दक्षिण कोरियाका हयुजिन बान ६३४.५ अंकको ओलम्पिक क्वालिफिकेसन रेकर्डसहित ८ जना फाइनलमा प्रवेश गरेका छन्।

फाइनल पुग्ने अन्य खेलाडीमा नर्वेकी हेग जिनेट, स्विटजरल्यान्डकी एन्ड्री गोमियट, चीनकी युटिङ हुवाङ, भारतकी रमिता, काजाकिस्तानकी एलेक्जेन्ड्रा ले, अमेरिकाकी सगेन माडालेना र फ्रान्सकी ओसिएने मुलर छन्।

फाइनल सोमबार हुनेछ।