काभा महिला भलिबलमा नेपाल समूह उपविजेता

लिगको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई सोझो ३ सेटमा हरायो, सेमिफाइनलमा इरानसँग खेल्ने

जनसम्मत
श्रावण २१, २०८१, सोमबार

काभा महिला भलिबल लिगमा नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको छ।

लिगको अन्तिम खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो।

अब, नेपालले भोली (मंगलबार) लिगको तेस्रो स्थानमा रहेको इरानसँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज (सोमबार) भएको दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई पहिलो सेटमा २५–८, दोस्रो सेटमा २५–१९ र तेस्रो सेटमा २५–१८ ले हरायो।

यो जीतसँगै नेपालले ४ खेलमा ९ अंक जोडेको छ।

माल्दिभ्सले भने १ अंक पनि नजोडी प्रतियोगिता सकाएको छ।

यस्तै, आजै भएको पहिलो खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराउँदै भारत समूह विजेता बनेको छ।

भारतले सेमिफाइनलमा लिगको चौथो स्थानको श्रीलंकासँग खेल्नेछ।

पहिलो सेमिफाइनलमा भोलि भारत र श्रीलंका तथा दोस्रो सेमिफाइनलमा नेपाल र इरान खेल्नेछन्।

काभा महिला भलिबल लिगको फाइनल खेल पर्सि बुधवार बेलुकी हुनेछ।