प्रेस कार्डको दुरुपयोग नगरौं : अध्यक्ष बस्नेत

‘प्रेस कार्डको दुरुपयोग गरी धम्क्याउने, बार्गेनिङ गर्नेलगायतलाई काउन्सिलले कार्ड खोस्ने, आचारसंहिता कक्षामा सहभागी गराउने, कालोसूचीमा राख्ने, विज्ञापन रोक्नेजस्ता कारबाही हुन्छ’

जनसम्मत
भाद्र ५, २०८१, बुधबार

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रेस कार्डको दुरुपयोग गरेको पाइए कुनैपनि पत्रकारलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

बुधबार काउन्सिलमा भएको विद्यार्थीसँगको मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले भने, ‘समाजलाई तर्साउन र धम्क्याउन नभइ सिर्जनात्मक काम गर्नका लागि हतियारका रुपमा प्रेस परिचयपत्र उपलब्ध हुने हो, त्यसको सदुपयोग हुनुपर्छ।’

‘डाक्टरको हातमा भएको चक्कु गलत प्रयोग गरिए के हुन्छ?’ पछिल्ला दिन प्रेस पास दुरुपयोगमा छानबिन भइरहेको जानकारी दिँदै अध्यक्ष बस्नेतले भने, ‘मिडियाको प्रेस पास पनि त्यस्तै हो। पत्रकारिताको हितमा समर्पित गर्न पत्रकारलाई प्रेस पास दिइएको हो।’

उनले सामाजिक सञ्जालमा आएका सूचना र संचार माध्यमका समाचारले आम मानिसमा अन्यौलता र समस्या सिर्जना गरेकाले मिडिया साक्षरता समाजका लागि समेत आवश्यक भएको औंल्याए।

‘पत्रकारलाई, संचार माध्यमलाई मात्र होइन, अहिले सूचना प्रविधिको कारण मिडिया साक्षरता समाजका लागि पनि आवश्यक छ। हामीले फरक छुट्याउन सक्नुपर्छ’ बस्नेतले भने।

आम सूचना अहिले जसले जहाँबाट पनि दिन सक्ने भन्दै उनले पत्रकारले निर्माणका कुरा, सकारात्मक परिवर्तनका सवाल र रचनात्मक विषयलाई संप्रेषण गर्न सक्नुपर्नेमा जोड दिए।

उनले मिडिया साक्षरताका लागि राज्यले लगानी बढाउन सुझावसमेत दिए।

काउन्सिलले युट्युब माध्यमलाई व्यवस्थित बनाउन मापदण्ड बनाएर आवश्यक नियमन गर्दै आएको छ।

प्रेस कार्डको दुरुपयोग गरी धम्क्याउने, बार्गेनिङ गर्नेलगायतलाई काउन्सिलले कार्ड खोस्ने, आचारसंहिता कक्षामा सहभागी गराउने, कालोसूचीमा राख्ने, विज्ञापन रोक्नेजस्ता कारबाही काउन्सिलले गर्दै आएको छ।

साइवर र अन्य अपराधजन्य अभियोगमा भने काउन्सिलले अनुसन्धान गर्ने निकायसँग सहकार्य गरी कारबाही गर्दै आएको छ।

काउन्सिल सभाहलमा भएको अभिमुखीकरणमा काउन्सिलको काम, कर्तव्य, अधिकार तथा संस्थागत संरचनाबारे वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले प्रस्तुति राखेका थिए।