प्रेस काउन्सिल नेपालले प्रेस संग्रहालयका निम्ति संचारसम्बद्ध पुराना सामग्री उपलब्ध गराइदिन सार्वजनिक अपिल गरेको छ।
बिहीबार एक अपिल जारी गर्दै काउन्सिले ३ वर्षअघि सुरु गरेको प्रेस संग्रहालयका लागि संचारसम्बद्ध ऐतिहासिक सामाग्री उपलब्ध गराउन विभिन्न संचार माध्यम, संचार गृह, पत्रकार, विश्वविद्यालय, संघसंस्था, व्यक्ति, सरकारी तथा गैरसरकारी निकायहरूलाई अपिल गरेको हो।
काउन्सिलले संग्रहालयमा सामग्री उपलब्ध गराउन सरोकारवालालाई पुनः पत्राचार गर्ने निर्णयसमेत गरेको छ।
३ वर्षअघिदेखि काउन्सिल परिसरमा संग्रहालय स्थापना गरी ट्रेडल मेसिन, कटिङ मेसिन (म्यानुअल), केस नेपाली र अंग्रेजी (फन्टसहित रूलरसहितको प्रुफ मेसिन), विभिन्न आकारका चिम्टा, स्टिक, विभिन्न आकारका रुलरहरू, हेडिङ ब्लक फोटासहित, जिंक ब्लक (पुराना फोटासहित), ग्यालीहरु, फ्रेम/साँचो/सेटधागो, हाते टाइपराइटर र फ्याक्स मेसिन, पुराना कम्प्युटर मनिटर संग्रहित गरेर राखिएको छ।
काउन्सिलले स्थापना गरेको यो संग्रहालय विश्व प्रेस इतिहासमा नै पहिलो र उदाहरणीय हो।
यसबाट प्रेसको इतिहास अध्ययन र अनुसन्धानका लागि टेवा पुग्ने अपेक्षा छ।
‘वर्तमान तथा भावी पुस्तालाई प्रेससँग सम्बन्धित पुराना सामग्रीहरुका बारेमा जानकारी गराउँदै विभिन्न कालखण्डमा विकास एवं प्रयोगमा आएका ऐतिहासिक महत्वका छापाखाना सहित सामग्रीहरू संग्रहित गरी सोको जगेर्ना गर्नुका साथै प्रेसको इतिहास अध्ययन अनुसन्धानको थलोको रुपमा विकास गर्नु प्रेस संग्रहालयको मुख्य ध्येय हो’, काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी अपिलमा भनिएको छ।
काउन्सिलले संग्रहालयका लागि छुट्टै सब–डोमेन वेबसाइटसमेत संचालनमा ल्याएको छ।