नेपाल साफ यु–२० च्याम्पियनसीपको फाइनलमा

सेमिफाइनलमा भुटानलाई टाइब्रेकर शुट–आउटमा ४–१ ले हराउँदै नेपाल फाइनल पुगेको हो

जनसम्मत
भाद्र ९, २०८१, आइतबार

नेपालले २० वर्षमुनिको साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको छ।

लतिपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज (आइतबार) भएको पहिलो सेमिफाइनलमा नेपालले भुटानलाई टाइब्रेकर शुट–आउटमा ४–१ ले हराउँदै फाइनल पुगेको हो।

निर्धारित ९० मिनेटको समयमा १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकर शुट–आउटमा पुगेको हो।

टाइब्रेकर शुट–आउटमा नेपालका गोलकीपर जियारथ शेखले भुटानका २ टाइब्रेकर शुट बचाए।

यस्तै, नेपालका राम थापा, अबिनाश स्याङ्तान, सिमान्त थापा र जियारथ शेखले गोल गरे।

यसअघि, खेलको ५६ औं मिनेटमा भुटानका जितसुनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

तर, खेलको ७८ औं मिनेटमा नेपालका निराजन धामीले गोल गर्दै खेल बराबरीमा ल्याए।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोलि (सोमबार) भारत र बंगलादेश खेल्दैछन्।

फाइनल खेल आउँदो बुधवार त्रिपुरेश्वरको दशरथ रंगशालामा हुनेछ।