पोखराको लामाचौरमा यस वर्ष पनि तीज महोत्सवले निरन्तरता पाउने भएको छ।
नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स), लामाचौरको आयोजनामा २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ हुने भएको हो।
संस्थाको २८ औं वार्षिक समारोह एवं तीज अवसरमा यही भदौ १९ देखि २१ सम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा हुन गइरहेको सो महोत्सवका लागि नाकोड्स तयारीमा जुटेको छ।
तीज महोत्सवबारे मंगलबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष स्वागतसिंह भण्डारीले संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको बताए।
‘मौलिक संस्कृतिको जगेर्ना गरौं’ उद्घोषका साथ आयोजित महोत्सवमा अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, अन्तरमहिला समूहगत खुला तीज गीत प्रतियोगिता पनि महोत्सवको आकर्षण रहेको संस्थाका प्रथम उपाध्यक्ष तथा सूचना एवं संचार उपसमिति संयोजक दिनेश भण्डारीले बताए।
उनका अनुसार महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय कलाकार सम्झना भण्डारी, अस्मिता डल्लाकोटी, दुर्गेश थापा, दीपक खड्का, बसन्त विश्वकर्मा, सरस्वती लामिछाने, प्रकाश पराजुलीलगायतका कलाकारहरुको विशेष प्रस्तुति रहनेछ।
महोत्सवमा औद्योगिक तथा व्यापार प्रदर्शनीका स्टलहरुसमेत रहनेछन्।
तीज गीतमा प्रथमलाई ५० हजार १११, दोस्रोलाई ३० हजार १११, तेस्रोलाई २० हजार १११ र सान्त्वनालाई १० हजार १११ रुपैयाँ साथै सहभागी टिमलाई प्रोत्साहनवापत २ हजार रुपैयाँ व्यवस्था गरिनेछ।
अन्तरविद्यालयस्तरीय लोकनृत्यमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना (३ टिम) लाई क्रमशः ४० हजार, २५ हजार, १५ हजार र ५ हजार र उत्कृष्ट भेषभूषालाई ५ हजार रुपैयाँ दिइने व्यवस्था गरिनेछ।
आयोजकले शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान दिनेलाई यस वर्ष सम्मान गर्नेछ।
छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइएको छ।
महोत्सव सम्पन्न गर्न ५४ लाख ८८ हजार खर्च लाग्ने अनुमान आयोजकको छ।
महोत्सवबाट बचत रकम आकस्मिक सेवा तथा तीज महोत्सव संचालन कोष वृद्धिका लागि थप गरिने अर्थ संकलन उपसमिति संयोजक बुद्धिबहादुर खत्री क्षत्रीले बताए।
संस्थाले सर्वसाधारणको सेवामा लामो समयदेखि एम्बुलेन्स तथा शववाहन संचालन गर्दै आएको छ।
पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र वडा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले लामाचौर महोत्सवकै कारण यस क्षेत्रको चिनारी अन्तर्राष्ट्रियस्तरमा पुगेको भन्दै वडाले पनि अपनत्व लिएको बताए।
महोत्सवका लागि अध्यक्ष स्वागत सिंह भण्डारीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ।
जसमा, १६ उपसमिति छन्।
संचारमा दिनेश भण्डारी, खेलकुदमा शंकर केसी, अर्थ संकलनमा बुद्धिबहादुर खत्री क्षत्री, महिला परिचालनमा गीता थापा, तीज महोत्सव संरक्षण कोषमा नवीन भण्डारी, स्वागत सत्कार एवं सांस्कृतिकमा खुसीमान गुरुङ, समन्वय विशेष तथा महोत्सव अनुगमनमा मिलन केसी, कार्यालय तथा बजार व्यवस्थापनमा मोहन केसी, मञ्च व्यवस्थापनमा प्रेमबहादुर गुरुङ, ज्येष्ठ नागरिक दिवा सेवा तथा हेरचाह केन्द्र, खाजा एवं भान्सामा चन्द्रबहादुर गुरुङ, आकस्मिक तथा सरसफाईमा थिरबहादुर थापा, परियोजनामा गुप्तबहादुर केसी, शिक्षा तथा श्रष्टा सम्मानमा कृष्ण गुरुङ, युवा परिचालनमा सचिन केसी, टिकटमा कमलबहादुर थापा, ब्यानरमा राजकुमार पौडेल संयोजक छन्।