पाल्पामा एकैपटक २१ पत्रकार पुरस्कृत

लुम्बिनी मेडिकल कलेजले स्थापना गरेको ५० हजार राशिको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट शाखाका पूर्व अध्यक्ष झपेन्द्र गैरे र भगवान भण्डारी पुरस्कृत

जनसम्मत
भाद्र ११, २०८१, मंगलवार

पाल्पामा  एकै मञ्चबाट २१ जता पत्रकारहरुले पत्रकारिता पुरस्कार पाएका छन्।

नेपाल पत्रकार महासंघ पाल्पाले २१ जना पत्रकारलाई एउटै मञ्चबाट पुरस्कृत गरेको हो।

महासंघले तानसेनमा आज (मंगलबार) एक समारोह आयोजना गरी जिल्लाका २१ क्रियाशील पत्रकारलाई पुरस्कृत गरेको हो।

जसअन्तर्गत लुम्बिनी मेडिकल कलेजले स्थापना गरेको ५० हजार राशिको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट शाखाका पूर्व अध्यक्ष झपेन्द्र गैरे र भगवान भण्डारी पुरस्कृत भएका छन।

यसैगरि, महासंघ शाखाले २५ हजार नगदसहित मेघ–गोविन्द–झपेन्द्र पत्रकारिता पुरस्कार शाखाका संस्थापक सचिव तथा वर्तमान उपाध्यक्ष भरत शर्मालाई प्रदान गरेको छ।

त्यस्तै, तानसेन नगरपालिकाबाट स्थापित १५ हजार राशिको राष्ट्रिय उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार कृष्ण कार्की, यम गाहामगर मिलन र मुक्तिप्रसाद न्यौपानेलाई पुरस्कृत गरेको छ।

यस्तै, जिल्ला समन्वय समितिले राखेको १० हजार राशिको सिर्जनशील पत्रकारिता पुरस्कारबाट पत्रकार मिलन विक, कृष्ण दर्नाल र सीता डोटेल पुरस्कृत भएका छन्।

त्यसैगरि, रामपुर नगरपालिकाले स्थापना गरेको १० हजार राशिको ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार सुशीला रेग्मी र रमा भण्डारी पुरस्कृत भए ।

साथै, पत्रकार दयाराज न्यौपानलेलाई ७ हजार ५ सय राशिको सामाजिक जागरण पुरस्कार प्रदान गरेको छ।

पत्रकार नारायण न्यौपाने ५ हजार राशिको मानवअधिकार पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्।

यसैगरि, पत्रकार महासंघ पाल्पाले पत्रकार वीरेन्द्र घिमिरे, रामचन्द्र रायमाझी, विष्णु खनाल, कमल अधिकारी, नेत्र गैरे, सुनिल कार्की, धनबहादुर ठाडालाई ४ हजार राशिको लेखनवृत्ति पत्रकारिता पुरस्कार पुरस्कार प्रदान गरेको छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, वरिष्ठ पत्रकार मेघराज शर्मा, लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्तीमगर, प्रदेश अर्थमन्त्री धनबहादुर कार्की, स्वास्थ्यमन्त्री खेमबहादुर सारु, पत्रकार महासंघ पाल्पा अध्यक्ष रेखीराम रानालगायतले पत्रकारलाई पुरस्कृत गरेका हुन्।

कार्यक्रममा मुख्यमन्त्री आचार्यले पर्यटकीय क्षेत्र पाल्पालाई प्रदेश सरकारले उच्च प्राथमिकता राखेर लुम्बिनी सर्किटसँग जोडेको बताए।

उनले पाल्पाको समृद्धि, पर्यटनको विकासबाट हुने भएकाले सर्किटसँग प्रदेशका १२ जिल्लालाई समेट्ने भएकाले पर्यटन विकासमा टेवा पुग्ने बताए।

उनले प्रदेशमा मुख्यमन्त्री र मन्त्रीहरुले पालन गर्नुपर्ने आचारसंहितामा लागु गर्न सुरुवात गरेको बताए।

उनले भने, ‘यसले अनावश्यक खर्च कटौती हुन्छ।’

कार्यक्रमका अन्य वक्ताले सिर्जनशील पत्रकारितामार्फत सामाजिक जागरणमा कलम चलाउँदै अगाडि बढ्न पत्रकारलाई सुझाव दिए।