गण्डकी मेडिकल कलेजले छुट्टै मेडिकल कलेज र शैक्षिक भवन बनाउँदै

‘कलेजद्वारा ३ अर्बको लागतमा विशिष्टिकृत ७५० शैयाको अत्याधुनिक भवन बनाउन लागेको हो’

जनसम्मत
भाद्र १२, २०८१, बुधबार

गण्डकी मेडिकल कलेजले लेखनाथमा छुट्टै मेडिकल कलेज र शैक्षिक भवन बनाउँदैछ।

पोखरा नयाँबजारमा रहेको गण्डकी मेडिकल कलेजले पोखरा–२७, लेखनाथस्थित रिट्ठेपानीमा मेडिकल कलेज र शैक्षिक भवन छुट्टाछुट्टै बनाउन लागेको हो।

कलेजका अध्यक्ष खुमाप्रसाद अर्यालले शनिबार भवनको शिलान्यास गरे।

अस्पतालको आफ्नै जग्गा रहेको पोखरा–२७ छत्रेढुंगामा ४ लाख ५० हजार वर्ग फिटमा मेडिकल कलेज भवन बनाउन लागेको अध्यक्ष अर्यालले उल्लेख गरे।

भवन संचालनका लागि ३ अर्बको लागतमा विशिष्टिकृत ७५० शैयाको अत्याधुनिक भवन बनाउन लागिएको उनको भनाई छ।

कलेज भवन बनेपछि हाल पोखरा नयाँबजारमा रहेको मेडिकल कलेज सोहि ठाउँमा स्थानान्तरण गरिने उनले खुलाए।

त्यस्तै, छत्रेढुंगा नजिकैको अर्को जग्गामा शैक्षिक भवन बनाइने कलेजले जनाएको छ।

कलेजका अनुसार सो जग्गामा २ अर्ब लागतमा १ लाख १४ हजार वर्ग फिटमा शैक्षिक भवन बनाइनेछ।

नयाँ भवनमा सेवा शुरु भएपछि हाल पोखरा नयाबजारमा रहेको अस्पताल र मेडिकल कलेजलाई सिटी अस्पतालका रुपमा संचालन गर्ने अस्पतालले जनाएको छ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत, प्राचार्य प्रा.डा.रवीन्द्रप्रसाद श्रेष्ठले अस्पतालले नयाँ भवनबाट क्यान्सर केन्द्रीत उपचार र मिर्गौला डायलाइसिस सेवा प्रदान गर्ने बताए।

यसका लागि अत्याधुनिक उपकरणहरु ल्याइने डा. श्रेष्ठको भनाई छ।

गण्डकी मेडिकल कलेजले ब्लड बैंक, १.५ टेस्लाको अत्याधुनिक एमआरआई, १६४ स्लाइसको सिटी स्क्यान, प्रविधियुक्त क्याथ ल्यावसहित हृदयरोग केन्द्र कार्डियाक सेन्टरमार्फत मुटुका विरामीको उपचार गर्दै आएको अस्पतालका प्रबन्ध निर्देशक सन्तोषकुमार खनालले बताएका छन्।