पोखराको मालेपाटनमा यस वर्ष पनि तीज विशेष कार्यक्रम

‘वर्षेनी आयोजना गर्दै आएको तीज विशेष कार्यक्रमले तीज संस्कृतिको जगेर्ना, महिलाको क्षमता अभिवृद्धि गराउनुका साथै खेल क्षेत्रमा प्रतिभा जन्माउने विश्वास’

जनसम्मत
भाद्र १२, २०८१, बुधबार

पोखरा–५, मालेपाटनमा यस वर्षपनि तीज गीत र महिलाहरुको खेलकुद प्रतियोगिता हुने भएको छ।

तीजको अवसरमा सूर्यचन्द्र विकास समाज आयोजनामा १७ देखि २१ भदौसम्म मालेपाटन चौरमा उक्त प्रतियोगिता हुने बुधबार पत्रकार सम्मेलन गरी जनाइएको हो।

तीज विशेष कार्यक्रमअन्तर्गत खुला तीज गीत र अन्तरमावि छात्रा भलिबल प्रतियोगिता एवं स्रष्टा (महिला) सम्मान गरिने संस्थाकी अध्यक्ष कमला गौतमले जानकारी दिइन्।

तीज गीत प्रतियोगितामा कास्कीभित्रका १६ टिमबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

सो प्रतियोगिताको विजेताले ४० हजार, दोस्रोले ३० हजार, तेस्रोले २० हजार र सान्त्वनाले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

साथै उत्कृष्ट भेषभूषा र उत्कृष्ट नृत्य गर्नेलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष गौतमले बताइन्।

अन्तरमावि छात्रा भलिबलमा १२ टिमलाई सहभागी गराइने समाजका सचिव हेमराज भण्डारीले जानकारी दिएका छन्।

भलिबल प्रतियोगिताका विजेताले २५ हजार, उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

भलिबलमा प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’ र ‘उत्कृष्ट खेलाडी’ ले मेडल र नगद पाउनेछन्।