मुस्ताङको मुक्तिनाथमा सुविधा सम्पन्न प्रहरी कार्यालय भवन

मुख्यमन्त्री पाण्डे भन्छन्, ‘शान्तिसुरक्षा र कानुनी राज्यको अनुभूति दिलाउन नागरिकको पनि भूमिका रहन्छ’

जनसम्मत
भाद्र १२, २०८१, बुधबार

मुस्ताङको मुक्तिनाथ क्षेत्रमा सुविधा सम्पन्न प्रहरी कार्यालय भवनको निर्माण भएको छ।

समुद्री सतहबाट ३ हजार मिटरभन्दा बढी उचाइमा रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्रस्थित इलाका प्रहरी कार्यालय मुक्तिनाथको सुविधा सम्पन्न पक्की कार्यालय भवन निर्माण गरिएको छ।

मुक्तिनाथ मन्दिर नजिकै ३ करोड ६० लाख ५२ हजार ८८ रुपैयाँ लागतमा भवन निर्माण गरिएको हो।

गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा गण्डकी प्रदेश प्रहरी कार्यालयले ५ रोपनी ३ आना क्षेत्रफल जग्गामा ३ तले ब्यारेक भवन, भान्छा कोठा र शौचालय निर्माण गरेको हो।

यसअघि, रानीपौवाको पुरानो धर्मशालाका ४ कोठाबाट कार्यालय संचालन हु्रँदै आएको थियो।

रानीपौवा क्षेत्रको सुरक्षालाई ध्यान दिँदै अब नयाँ भवनबाटै कार्यालय संचालन हुने जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताएका छन्।

मुक्तिनाथमा प्रहरी निरीक्षकको नेतृत्वमा १३ प्रहरी कार्यरत छन्।

अपांगमैत्री भवनको भुइँ तलामा कार्यालय प्रयोजनका लागि ५ कोठा निर्माण गरिएका छन्।

त्यस्तै, पहिलो तलामा महिला र पुरुष कर्मचारीका लागि छुट्टाछुट्टै ब्यारेक छ।

भुइँ तलामा शौचालय सुविधासहितको पुरुष र महिला हिरासत कक्षहरू छन्।

माथिल्लो तलामा कार्यालय प्रमुखको आवास, संचार शाखाको कार्यालय र ब्यारेकसहितका कोठाहरू छन्।

कार्यालय संचालनका लागि बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भवनको उद्घाटन गरे।

पाण्डले भवन निर्माणपछि मुक्तिनाथ आउने तीर्थालु, पर्यटक र स्थानीयको शान्ति, सुरक्षामा खटिन सहज हुने उल्लेख गरे।

प्रदेशको शान्ति, सुरक्षाका लागि सरकारले सुरक्षा निकायलाई भौतिक पूर्वाधार, उद्धार सामग्री, उपकरणसहित क्षमता विकासमा सहयोग गर्दै आएको पनि उनले बताए।

मुख्यमन्त्री पाण्डेले समाजमा शान्ति सुरक्षा कायम गर्न र कानुनी राज्यको अनुभूति दिलाउन नागरिकको पनि महत्वपूर्ण भूमिका हुने बताए।

उनले सरकारसँगै नागरिक समाजसँगको सहकार्यमा शान्ति सुरक्षाका प्रभावकारितासँगै कानुनी राज्यको अनुभूति दिलाउन सकिने बताए।

संविधानअनुसार कानुन नबन्दा प्रहरी समायोजन हुन नसकेको बताए।

उनले समायोजन नहुँदा चाहेर पनि प्रदेश सरकारले आवश्यकता र अपेक्षाअनुसार प्रहरीलाई सबै सहयोग गर्न नसकिएको उल्लेख गरे।

 

राससमा समाचार छ।