पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी छिन्।
के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहमा गएराति कास्य पदक जित्दै पलेशा नेपालको लागि ओलम्पिक्स र पारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी छन्।
नेपाली खेलकुदको इतिहासमै ओलम्पिकमा आधिकारिक पदक जित्ने पलेशा पहिलो खेलाडी बन्दै कीर्तिमान बनाउन सफल पनि भइन्।
पलेशाले जितेको कास्य पदक नेपाली खेलकुदकै अहिलेसम्मकै सबैभन्दा ठूलो पदक हो।
कास्य पदकका लागि भएको रिपाचेजमा पलेशाले सर्बियाकी मारिजा मिकेभलाई १५–८ ले हराउँदै नेपाललाई ऐतिहासिक पदक दिलाइन्।
यसअघि, पलेशाले पेरिस पारालिम्पिक्स अन्तर्गत रिपाचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभरजानलाई २–१ को स्कोरमा पराजित गरेकी थिइन्।
उनले क्वाटरफाइनलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० को फराकिलो अन्तरमा पराजित गरेकी थिइन्।
सेमिफाइनलमा पलेशा विश्व नम्बर एक खेलाडी ब्राजिलियन सिल्भाना मायारा कार्डोस फरनान्डेजसँग १०–८ ले पराजित बनेकी थिइन्।
यसअघि, उनले चीनको ह्वाङझाउमा चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी थिइन्।
पलेशा अघिल्लो संस्करणमा भने कास्य पदक जित्नबाट चुकेकी थिइन्।