गण्डकी विश्वविद्यालयले नेपाली राष्ट्रिय महिला भलिबलकी टिमकी कप्तान अरुणा शाहीलाई सम्मान गरेको छ।
विश्वविद्यालयमा आयोजित एक कार्यक्रमबीच अरुणालाई गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले सम्मान गरेका हुन्।
कस्तान अरुणा शाहीलाई विश्वविद्यालयले नगद २० हजार सहित सम्मान गरेको हो।
हालै, काठमाण्डौमा सम्पन्न सेन्ट्रल एसियन जोन काभा वुमन्स भलिबल लिगमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन सफल राष्ट्रिय टिमकी कप्तान अरुणा गण्डकी विश्वविद्यालयकी विद्यार्थीसमेत हुन्।
नेपालमा नै पहिलो पटक स्नातक तह खेलकुद व्यवस्थापन (वीएसएम)मा अध्ययन–अध्यापन सुरु गरेको विश्वविद्यालयमा अरुणा पहिलो व्याचकी छात्रा हुन्।
उनी हाल छैटौं सेमेस्टरमा अध्ययनरत छिन्।
अरुणालाई सम्मान गर्दै मन्त्री थापाले नेपाली खेलकुदमा अरुणाले निरन्तर रुपमा प्राप्त गरेको सफलताप्रति वधाई दिए।
पछिल्लो समय नेपाली खेलकुदमा परिवर्तनका आभासहरु देखिन थालेको मन्त्री थापाले बताए।
मन्त्री थापाले नेपाली महिला खेलाडीहरुले पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको गौरव बढाउने कार्यमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।
विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले आफ्नो विश्वविद्यालयकी छात्रा अरुणाले अध्ययनसँगै खेलकुदमा समेत महत्वपूर्ण सफलता प्राप्त गरेकोले विश्वविद्यालय परिवार निकै गौरवान्वित रहेको जनाए।
गण्डकी प्रदेश सरकारले विश्वविद्यालयबाट उत्पादित हुने जनशक्तिलाई यथाशिघ्र सरकारले निति निर्माण गरी उनीहरुलाई अवसर दिन ढिलाई गर्न नहुने प्राडा गुरुङको भनाई थियो।
कार्यक्रममा बोल्दै विश्वविद्यालयका उपकुलपति प्राडा नवराज देवकोटाले अनुशन्धानमुलक विषयसंगै खेलकुद क्षेत्रलाई समेत जोडेको बताए।
नेपाली खेलकुदको विकासका लागि स्नातक तहबाटै खेलकुद विषयमा खेलाडीहरुको पहुँच बढोस् र उनीहरुले अवसर प्राप्त गर्न सकुन भन्ने अभिप्रायले वीएसएम विषय सुरु गरेको प्राडा देवकोटाको भनाई थियो।
उनले आफ्नो विद्यार्थी अरुणाले अध्ययनसँगै नेपाली खेलकुदमा गौरव बढाउने कार्य गर्न सफल भएकोमा बधाई दिए।
सो अवसरमा बोल्दै नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले सम्मानका लागि विश्वविद्यालयप्रति आभार व्यक्त गरिन्।
खेलकुदसँगै अध्यनन अपरिहार्य रहेको अरुणाले औंल्याइन्।
उनले खेलकुदमा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता हात पार्न समेत त्यससम्बन्धी अध्ययन आवश्यक रहेको बताइन्।
नेपाली खेलाडीहरुलाई विश्वविद्यालयले दिएको अवसरलाई लिन आग्रह समेत् गरिन्।