साविक विजेता गण्डकी प्रदेश भलिबल टिम लामाचौर कपमा सोझो सेटमै पराजित छ।
विभागीय नेपाल पुलिस क्लबसँग मंगलबार पुरुषतर्फ प्रतिस्पर्धामा कोर्ट उत्रिएको घरेलु टिम सोझो सेटमै पराजित भएको हो।
पुलिसलाई गण्डकीमाथि बदला लिन पहिलो र दोस्रो सेट सहजै जित हात पारेकोमा तेस्रो सेटमा निकै हम्मेहम्मे परेको थियो।
गण्डकीलाई २१ अंकमा रोक्दै म्याच पोइन्ट खोजिरहेको पुलिसले अन्ततः ३०–२८ सम्म कुर्नुपरेको थियो।
अघिल्लो सेट २५–१७ र २५–२१ मा जितेको थियो।
पहिलो र दोस्रो सेटको तुलनामा तेस्रोमा निकै सुधारिएको खेल पस्केपनि घरेलु टिमले अन्ततः आफ्ना समर्थकलाई निराश बनायो।
लामाचौर कपमा महिलातर्फ ११ औं संस्करण भइसक्दा २ वर्षअघि मात्र पुरुषतर्फ पनि प्रतिस्पर्धा हुन थालेको हो।
पहिलो र दोस्रो संस्करणमा पनि गण्डकी र पुलिस नै फाइनल खेलेका थिए।
पहिलो संस्करण भने वर्षाले बिथोलेपछि दुवै टिमले पुरस्कार बाँडेर लिएका थिए।
नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ अन्तर्गत मंगलबारदेखि लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो।
इन्द्रराज्यलक्ष्मी माविको खेल मैदानमा ४ दिनसम्म प्रतियोगितामा महिला तथा पुरुषतर्फ ४÷४ टिमले भाग लिएका छन्।
सशस्त्र प्रहरी बलको विभागीय एपीएफले महिला तथा पुरुष दुवैतर्फ जित हात पार्दा महिलातर्फ साविक उपविजेता डायमण्डले विजयी सुरुआत गरेको छ।
महिलातर्फ उद्घाटन खेलमा विभागीय एपीएफले गण्डकी प्रदेश भलिबल एसोसिएसनलाई ३–१ सेटमा हराएको छ।
एपीएफले अघिल्ला २ सेट आफ्नो पक्षमा पारेपनि तेस्रो सेट गुमाएको हो।
उसले २५–१४, २५–१४, २४–२६ र २५–२३ ले जितेको हो।
महिलातर्फ दोस्रो खेल टिपटप न्यू डायमण्ड युथ स्पोर्टस् क्लबले जित्यो।
डायमण्डले एभरेष्ट भलिबल क्लबलाई सोझो सेट २५–१४, २५–१२ र २५–१७ मा पराजित गरेको थियो।
पुरुषतर्फ पहिलो खेलमा एपीएफले ट्राभल इक्वायरी गलकोटलाई ३–१ सेटमा हराउँदै विजयी यात्रा सुरु गरेको छ।
एपीएफले २५–१७, २५–२७, २५–१६ र २६–२४ मा हराएको हो।
दोस्रो दिन बुधबार महिलातर्फ न्यू डायमण्ड र गण्डकी तथा दोस्रो खेलमा एपीएफ र एभरेष्ट भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।
पुरुषतर्फ गण्डकी र एपीएफ आमने–सामने हुने खेलकुद संयोजक शंकर केसीले बताए।
राउण्ड रोविन आधारमा हुने प्रतियोगितामा दुवैतर्फको फाइनल भदौ २१ मा हुनेछ।
दुवैतर्फ विजेताले १ लाख ५० हजार १११, उपविजेताले १ लाख, तेस्रोले ५० हजार नगद पुरस्कार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
सर्वोत्कृष्ट खेलाडी एवं विधागत पुरस्कार पनि व्यवस्था गरिएको छ।
भलिबल हेर्न ४ हजार सिट क्षमताको अस्थायी प्यारापिट निर्माण गरिएको छ।
आयोजक संस्थाका अध्यक्ष स्वागतसिंह भण्डारीले संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको बताए।