‘भ्यूजको लोभले स्वच्छ पत्रकारिता ओझेलमा पर्दैछ’

महासंघ अध्यक्ष विपुल पोख्रेल भन्छन्, ‘संचार माध्यमहरुले सामाजिक विषयहरुलाई प्राथमिकतामा राख्नुपर्छ’

जनसम्मत
भाद्र १७, २०८१, सोमबार

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले संचार माध्यमहरुले सामाजिक मुद्दा उठाउनुपर्ने जरुरी रहेको औंल्याएका छन्।

राष्ट्रिय समाचार समिति (रासस) नेपाली भाषामा २४ घण्टा समाचार सेवा शुभारम्भ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले अहिलेका संचार माध्यमहरुले सोसल मिडियाको भ्यूजको लोभमा परेको स्पष्ट पारे।

उनले भने, ‘संचार माध्यमहरुले सामाजिक विषयहरुलाई प्राथमिकतामा राख्नुपर्छ। भ्यूजको लोभमा परेर सनसनीपूर्ण समाचारहरु प्रसारण गरेर स्वच्छ पत्रकारिता ओझेलमा पर्दै गएको छ।’

‘हिँजोआज सोसल मिडिया हेर्दा भ्यूजको लोभमा परेर केही संचार माध्यमहरुले सनसनीपूर्ण समाचार र शिर्षक हालेर बिक्छ भनेर मनोविज्ञानका साथ काम गरिरहेको अवस्था छ’, उनले थपे।

साथै उनले यस्तो मनोविज्ञानले काम गर्दै जाँदा खोजी समाचारहरु, सामाजिक मुद्दाहरु ओझेलमा पर्ने बताए।

उनले सामाजिक मुद्दाहरुलाई कडा मेहनतका साथ समाचारका रुपमा अगाडि सार्नुपर्ने उल्लेख गरे।