संगीता पहाडी अर्याल, नेपाल टेलिकमको प्रबन्ध निर्देशक

आवेदन परेको १७ जनामध्येबाट सिफारिसमा परेका संगीता पहाडी अर्याल, अनिल झा र विमल आचार्यमध्येबाट पनि मन्त्रीपरिषदको सिफारिसमा संगीता परेकी हुन्

जनसम्मत
भाद्र २०, २०८१, बिहीवार

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो।

यसअघि, संगीताले नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको रूपमा काम गरिरहेकी थिइन्।

उनी, गत पुस १७ देखि निमित्तका रूपमा रहँदै आएकी थिइन्।

टेलिकमका तत्कालीन एमडी सुनील पौडेल भ्रष्टाचार प्रकरणमा दोषी ठहर भएपछि नेपाल टेलिकम नेतृत्वविहीन बनेको थियो।

पहाडीलाई गत असोज १६ को मन्त्रीस्तरीय निर्णयले कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको थियो।

संचार तथा सूचना प्रविधि मन्त्रालयले एमडी पदका लागि जेठ २२ मा दरखास्त आह्वान गरेकोमा त्यसमा १७ जनाले आवेदन दिएका थिए।

टेलिकमकी निमित्त प्रबन्ध निर्देशक पहाडीसँगै टेलिकमकै विमल आचार्य, राजेश जोशी, अनन्तप्रकाश मल्लिक, प्रेमप्रसाद सिलवाल, कृष्णप्रसाद भण्डारी, लक्ष्मण महर्जन, सुवास साह, शालिकराम सुवेदी, कमल लामिछाने, केदारनाथ कोइराला, शालिग्राम पराजुली र बुद्धिप्रसाद आचार्यले आवेदन दिएका थिए।

टेलिकमबाहिरका चिन्तामणि बराल, अनिलकुमार झा, नागेन्द्रकुमार दास र रमेशप्रसाद जोशी पनि टेलिकमको नेतृत्व सम्हाल्न इच्छुक थिए।

जसमा, निमित्त पहाडीसँगै जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झा, टेलिकमकै विमल आचार्यको नाम सिफारिस समितिले सिफारिस गरेको थियो।

यिनै तीनमध्येबाट मन्त्रिपरिषद्ले पहाडीलाई नियुक्त गरेको हो।

तत्कालीन संचार सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा गठित समितिले प्रबन्ध निर्देशकका लागि संगीता पहाडी अर्याल, अनिल झा र विमल आचार्यको नाम सिफारिस गरेको थियो।

त्यसपछि, संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले उक्त प्रस्ताव मन्त्रीपरिषद्मा लगेका थिए।

३ जना मध्येबाट मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो।

नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बी.ई. र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम.ई. अध्ययन गरेकी छन्।

२०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसंचार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी उनले २०५१ फाल्गुण १० गते स्थायी नियुक्ति लिएकी थिइन्।