पोखरामा शिक्षासेवी र नमूना सामुदायिक विद्यालयलाई सम्मान

ऐतिहासिक बाटुलेचौर तीज मेलामा विद्यावारिधि हासिल गरेका २५ पोखरेली शिक्षासेवी र २ नमुना विद्यालयलाई सम्मान गरिएको हो

जनसम्मत
भाद्र २०, २०८१, बिहीवार

ऐतिहासिक बाटुलेचौर तीज मेलामा विद्यावारिधि हासिल गरेका पोखरेलीलाई सम्मान गरिएको छ।

ऐतिहासिक बाटुलेचौर तीज मेलाका आयोजक बडहरबोट आमा समूहले पोखरा–१६ वडाभित्रका शिक्षासेवीहरुलाई सामूहिक सम्मान गरेको हो।

तीज मेलाको अवसर पारेर विद्यावारिधि उपाधि हासिल गरेका २५ जना विषयविज्ञ र २ नमूना सामुदायिक विद्यालयलाई बिहीबार सम्मान गरेको हो।

विद्यावारिधि गरेका शिक्षासेवीहरु प्राडा टंकनाथ शर्मा, डा. गेहेन्द्रमान उदास, डा. दीर्घमान गुरुङ, डा. गोपाल घिमिरे, डा. महेन्द्रबहादुर बानियाँ, डा. अर्जुन बानियाँ, प्राडा ध्रुवबहादुर कार्की, डा. श्रीराम आचार्य, डा. निशा बराल, डा. सुरेश पौडेल छन्।

यस्तै, डा. प्रज्ञा गौतम, डा. उत्तम थापा, डा. विदुर देवकोटा, डा. गौतम गुरुङ, डा. सुनिल भट्टराई, डा. श्रीकृष्ण आचार्य, डा. कुशल शर्मा, डा. पुष्पराज आचार्य, डा. अनुप बस्नेत, डा. सञ्जय शर्मा तिमिल्सिना, डा. सुखबहादुर गुरुङ, डा. चन्द्र गुरुङ, डा. पूनम गौचन छन्।

उनीहरुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’, पोखरेलीरत्न जर्ज जोन, पोखरा–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले सम्मानपत्र, माला र दोसल्ला ओढाएर सम्मान गरे।

सो अवसरमा सामुदायिक विद्यालयतर्फ नेपालकै उत्कृष्ट विन्ध्यवासिनी मावि बाटुलेचौर र कास्कीमा उत्कृष्ट ५ मा पर्न सफल इन्द्रराज्य लक्ष्मी मावि लामाचौरलाई पनि सम्मान गरिएको छ।

कार्यक्रममा मेयर आचार्यले विशेषज्ञता हासिल गरेका विज्ञहरुको सम्मानले समाज नै सम्मानित भएको बताए।

उनले वडाको विकासमा यस्ता विज्ञबाट सुझाव लिई समग्र योजना बनाउनुपर्नेमा जोड दिए।

उनले आफ्नो विषयगत दक्षता समाज विकास र मानव सेवामा लगाउन आग्रह समेत गरे।

कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति ‘बिखर्ची’, शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, पृथ्वीनारायण क्याम्पसका संस्थापक एवं पोखरेलीरत्न जोर्ज जोन, सम्मानीत व्यक्तित्व डा. महेन्द्र बानियाँ, वडा शिक्षा समितिका जयराम पौडेललगायतले यस क्षेत्रको विकासमा सम्मानीत व्यक्तित्वको भूमिका महत्वपूर्ण रहने बताए।