‘वृत्तिविकास र अधिकार भन्दै कार्यालय छाडेर नहिँड्नुस्’

मुख्यमन्त्री पाण्डे निर्देशन दिन्छन्, ‘कार्यालय समयमा कर्मचारीहरु जम्मा भएर आफ्नो हक अधिकार, सेवा सुविधाका लागि भन्दै मुख्यमन्त्री र मन्त्री तथा उच्च तहका कर्मचारी भेट्दै निहिँडनुहोला’’

जनसम्मत
भाद्र २२, २०८१, शनिबार

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताको काम छाडेर आफ्नो वृत्ति विकास र अधिकार भन्दै कार्यालय छाडेर नहिँड्न कर्मचारीलाई निर्देशन दिएका छन्।

निजामती सेवा दिवसको अवसरमा शनिवार आयोजित कार्यक्रममा कर्मचारीले राखेका विभिन्न माग सुनेपछि मुख्य मन्त्री पाण्डेले चेतावानी दिए, ‘कार्यालय समयमा कर्मचारीहरु जम्मा भएर आफ्नो हक अधिकार, सेवा सुविधाका लागि भन्दै मुख्यमन्त्री र मन्त्री तथा उच्च तहका कर्मचारी भेट्दै हिड्नु राम्रो हुँदैन।’

मुख्यमन्त्री पाण्डेले कर्मचारीहरुलाई ‘कार्यालय समयमा तपाईहरु आफ्नो अधिकारको कुरा गर्दै अन्यत्र भेटघाटमा जाने, अनि कार्यालयमा कामको लागि आएका सेवाग्राहीलाई सेवा दिने कसले ? भनि प्रश्न गरे।

उनले नागरिकहरुको काम प्रभावित हुन नहुने र समयमै नागरिकले सेवा पाउनुपर्ने भन्दै आफ्नो जिम्मेवारी पुरा गर्न कर्मचारीहरुलाई सचेत गराए।

‘पछिल्लो समय प्रदेश निजामती ऐनमा संशोधन गर्नुपर्नेलगायतका विभिन्न विषय लिएर तथा मन्त्री, मुख्य मन्त्री र सरुवा बढुवा भएका कर्मचारीहरुलाई खादामाला लगाउन दिनहुँजसो कर्मचारीहरु जाने गरेका छन।

कर्मचारीहरुले ट्रेड युनियन संगठन वा बिभिन्न संगठनको नाममा समूह बनाएर कार्यलय समयमा नै मुख्यमन्त्री कार्यलय, मन्त्रालय धाउने गरेपछि मुख्यमन्त्री पाण्डेले आफ्ना माग राख्दा वा भेटघाटमा जाँदा समयको ख्याल गर्न निर्देशन सहित चेतावनी दिएका हुन्।

कर्मचारीहरुको वृत्ती विकास र अधिकारका सवालमा सरकार संवेदनशील रहेको मुख्यमन्त्री पाण्डेले बताए।

मुख्यमन्त्री पाण्डेले भने, ‘कर्मचारी युनियन, कर्मचारी संघ, संगठनहरुलाई कर्मचारीको साझा मुद्दामा केन्द्रीत भएर सरकारलाई सुझाव दिन अनुरोध छ। कर्मचारीका मुद्दा उठाएर क्रेडिट लिने भन्दा दिगो समाधानका लागि सरकारलाई सहयोग गर्नुहोस।’

उनले संघीय निजामती ऐन जारी नहुँदा केही अन्यौल र प्रदेशले जारी गरेको निजामती ऐनमा सुधार गर्नुपर्ने देखिएको बताए।

उनले भने, ‘प्रदेशको स्रोत साधन र क्षमतालाई हेरेर हक अधिकारका सवालमा केन्द्रीत हुनुहोला। प्रदेश निजामती ऐनमा सुधार गर्नुपर्ने केही विषयहरु प्रदेश सभाबाट संशोधन गर्न आबश्यक तयारी छ।’

गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कर्मचारी ट्रेड युनियनका अध्यक्षहरु लगायतले कर्मचारीको वृत्ति विकास, अधिकार, प्रदेश निजामती ऐनमा संशोधन र संवोधन गर्नुपर्ने विषयहरु लगायतका बारेमा धारणा राखे।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा भएको निजामती सेवा दिवसको अवसरमा रक्तदान, स्वास्थ्य शिविर, बिभिन्न खेलकुद प्रतियोगिता, हाँजिरिजवाफलगायतका कार्यक्रम गरिएको थियो।