पत्रकार महासंघ र अकोराबमा साझा प्यानलको अवधारणा

नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका तथा सदस्यताको अन्तिम नामावली सार्वजनिक गर्न प्रेस सेन्टर नेपालले जोडदार माग गरेको छ

जनसम्मत
भाद्र २३, २०८१, आइतबार

प्रेस सेन्टर नेपालले आफ्नो नेतृत्वमा पत्रकार महासंघ र सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को निर्वाचनमा साझा प्यानल बनाउने निर्णय गरेको छ।

संगठनका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ को अध्यक्षतामा आज (आइतबार) बसेको केन्द्रीय कार्यलयको बैठकले पत्रकार महासंघ र अकोराबलाई साझा चरित्रको बनाउन र सबैको सहभागिता सुनिश्चित हुने वातावरण बनाउन सबै पक्षलाई आग्रह गरेको हो।

संगठनका महासचिव सन्तोष पौडेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा पत्रकार महासंघ र अकोराबमा आफ्नो नेतृत्वमा सबै पक्षलाई समेटेर लैजाने निर्णय भएको बताइएको छ।

महासंघ र अकोराबलाई साझा बनाउन आफ्नो प्रयास रहने प्रेस सेन्टरले प्रतिबद्धता जनाएको छ।

सबै संगठनको अवस्थाअनुसार पत्रकार महासंघ र अकोराबको सम्मानजनक र सहभागिताको सुनिश्चितताका लागि प्रेस सेन्टरले जोड दिएको छ।

यसो नभएमा अन्य संघसंगठनलाई समेत सहभागी गराएर साझा नेतृत्व चयनका लागि संगठनले पहल गर्ने निर्णय समेत गरेको विज्ञप्तिमा जनाएको छ।

विज्ञप्तिमा जनाइएको छ, ‘त्यसका लागि श्रमजीवी, लोकतान्त्रिक, प्रगतिशील, व्यवसायिक पत्रकार र सामुदायिक रेडियोका सञ्चालक सबैमा सहकार्यका लागि आब्हान गरिन्छ।’

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघ र सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) साझा संस्थाका रुपमा अगाडि लैजानका लागि सम्बद्ध सबै पक्षको सम्मानजनक सहभागिता सुनिश्चित गर्न प्रेस सेन्टर नेपाल तयार छ। त्यसका लागि संगठनले पहल र प्रयत्न गर्ने निर्णय गरेको छ। दुबै साझा संस्थाको गरिमा र प्रतिष्ठासँगै श्रमजीवी पत्रकारको हित र सामुदायिक रेडियोको संस्थागत विकासका लागि हाम्रो संगठन प्रतिबद्ध छ।’

पत्रकार महासंघको आसन्न निर्वाचनको ढिलासुस्तीप्रति चिन्ता व्यक्त गर्दै प्रेस सेन्टर नेपालले महासंघको ध्यानाकर्षण समेत गराएको छ।

त्यसैगरी, नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक नगरिएको तथा सदस्यताको अन्तिम नामावली पनि सार्वजनिक नगरिनुले महासंघको निर्वाचन तोकिएको समयमा नहुने आशंका थपिएको भन्दै प्रेस सेन्टरले चिन्ता व्यक्त गरेको छ।

साथै, विज्ञप्तिमार्फत तत्काल सदस्यताको अन्तिम नामावली र कार्यतालिका सार्वजनिक गर्न पनि माग गरिएको छ।

विज्ञप्तिमार्फत प्रेस सेन्टर जुनसुकै बेला पनि निर्वाचनको लागि तयार रहेको जनाएको छ।

सेन्टरले महासंघलाई बन्धक बनाउने प्रवृत्तिको भण्डाफोर गर्ने निर्णय पनि गरेको छ।

‘प्रेस सेन्टरलगायत संघ संगठनसँग जनाएको सहमतिअनुसार महासंघ नेतृत्वद्धारा अद्यावधिक गरिएको सदस्यता तत्काल सार्वजनिक गर्ने र त्यसलगत्तै निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको थियो। उक्त प्रतिबद्धताअनुसार निर्वाचन कार्यतालिका सार्वजनिक नहुँदा फेरि पनि निर्वाचन निर्धारित समयमा नहुने हो कि भन्ने आशंका उत्पन्न भएको छ। हाम्रो संगठन महासंघलाई अनिर्णयको वन्दी बनाइएको र निर्वाचन नगर्ने बहानाबाजीको विरुद्धमा छ। प्रेस सेन्टर नेपाल तत्काल सदस्यताको अद्यावधिक विवरण कार्यतालिका सार्वजनिक गर्न जोडदार माग गर्दछ’, विज्ञप्तिमा उल्लेख गरेको छ।

साथै, प्रेस सेन्टर नेपालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधिानिक अधिकारको प्रयोगमा सरकारले लगाएको अंकुशप्रति संगठनको ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ ‘आलोचना गरेकै कारण नागरिकलाई पक्राउ गर्ने र विभिन्न झुठा मुद्दा लगाउने कार्य नेपालको संविधान प्रतिकूल रहेकाले आगामी दिनमा यस्ता क्रियाकलाप नगर्न हामी सरकारको ध्यानाकर्षण गराउँदछौं। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारको प्रबद्र्धन गर्न सरकारसँग माग गर्दछौं।’