पत्रकार महासंघ अध्यक्ष विपुलले दिए राजीनामा

सदस्यताको सूचीप्रति एकपक्षले देखाएको व्यवहारप्रति आफू खिन्न भएको विपुलको भनाई

जनसम्मत
भाद्र २४, २०८१, सोमबार

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सोमबार पदबाट राजीनामा दिएका छन्।

तेस्रो पटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित प्राय भएपछि पोखरेलले राजनीनामा दिएका हुन्।

उनले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई सम्बोधन गरेर राजीनामा दिएका हुन्।

अब हुने निर्वाचनप्रति सर्वस्वीकार्यता हुन सक्ने अवस्था नरहेको र यसमा आफ्नो पनि कमजोरी रहेको उनले स्विकारेका छन्।

‘बाह्य सरोकारवाला पक्षहरूले समेत सदस्यतासूची आफूलाई देखाएर मात्र अघि बढ्नुपर्ने अपेक्षा अझैपनि कायम राखिराख्दा मन खिन्न हुन गएको छ। यस्तो अवस्थाबाट ममा निर्मित मनोविज्ञान बोकेर यो निर्वाचनलाई सम्पन्न गर्न म समर्थ छैन’, उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्।

उनले अहिलेको सबै अवस्था आउनुमा आफ्नो कमजोरीलाई स्वीकार गर्दै सबै कुराको नैतिक जिम्मेवारी लिने समेत बताएका छन्।

‘मेरो मानसिक तनाव र शारीरिक स्वास्थ्य अवस्था समेत सहज रूपमा काम गर्न सक्ने अवस्थामा छैन। तसर्थ, विधानले प्रदान गरेको अध्यक्षको संपूर्ण (आर्थिक समेत) जिम्मेवारी बहन गर्ने गरी कार्यवाहक अध्यक्षका रूपमा जिम्मेवारी दिँदै आजैका मितिदेखि लागू हुनेगरी अध्यक्ष पदबाट राजीनामा दिएको छु’, उनको राजीनामापत्रमा उल्लेख छ।

सदस्यता विवादका कारण पत्रकार महासंघको निर्वाचन निर्धारित कार्यतालिकामा हुन सकेको छैन।

सदस्यताको सूचीप्रति एकपक्षले देखाएको व्यवहारप्रति आफू खिन्न भएको पोख्रेलको भनाई छ।

पत्रकार महासघको आइतबार केन्द्रीय समितिको बैठक थियो।

बैठकमा मतदाताको अन्तिम नामवली सार्वजनिक गर्नुपर्ने अडान केन्द्रीय अध्यक्षले राखेपनि विवाद हल भएपछि मात्रै नामावली सार्वजनिक गर्नुपर्ने अन्य सदस्यहरुले माग राखेका थिए।

महासंघ केन्द्रद्धारा पछिल्लो पटक असोज ५ गतेका लागि तोकिएको छ।

महासंघको चुनाव २ पटकसम्म मिति तोकिएपनि हालसम्म चुनाव हुन सकेको छैन।

तेस्रो पटक आउँदो असोज ५ गतेको मिति तोकिएको हो।

पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रको अवधि चैतमा नै सकिएको हो।

पुनः कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवादका लागि बसेको बैठकबाट केही पदाधिकारी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमा

हस्ताक्षर नगर्नुलगायतका कारण चुनाव गर्न नसकेको पोख्रेलले बताएका छन्।

नामवली सार्वजनिक गर्न नसकेपछि अब असोज ५ का लागि तय गरिएको अधिवेशन हुन नसक्ने स्थिति बनेको छ।

यसैका कारण अध्यक्ष पोखरेलको राजीनामा आएको बताइएको छ।