पर्वतको कुश्मामा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको अभिमुखिकरण

‘समयमा नै रिजल्ट आउने गरी काम गर्न सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले मातहत कार्यालयका कर्मचारीलाई निर्देशन दिएका छन्

जनसम्मत
भाद्र २४, २०८१, सोमबार

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले समयमा नै रिजल्ट आउने गरि काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्।

सोमबार पर्वत जिल्लाको कुश्मामा मन्त्रालयले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले मन्त्रालय मातहतका कार्यालयहरुलाई समयमा नै सम्झौता गर्ने र समयमा नै काम सम्पन्न गर्ने गरी अगाडि बढ्न निर्देशन दिएका हुन्।

उनले प्रदेशले प्राप्त गरेको स्रोत साधनलाई उपयोग गरी नागरिकलाई सहज र सरल रुपमा सेवा प्रवाह गर्न समेत भनेका छन्।

आर्थिक वर्ष २०८१÷०८२ को बजेट कार्यन्वयन गर्न सहज होस भन्ने उद्देश्यले आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमले मन्त्रालयको कामकाजमा गति बढाउने कुरामा मन्त्री थापाको विश्वास छ।

तीनै तहको सरकार मिलेर नै विकास संभव भएकाले एक्लै गन्तव्यमा पुग्न नसकिने उनले उल्लेख गरे।

मन्त्रालयले यसपटक शिक्षा, सामाजिक विकास, युवा तथा खेलकुदको क्षेत्रमा महत्वपूर्ण काम गर्ने गरी आफ्ना क्रियाकलाप तय गरेको भनाई उनको छ।

व्यवहारिक शिक्षा विद्यार्थीका लागि आवश्यक भएको मन्त्री थापाले बताए।

‘यसका लागि अभिभावक, शिक्षक र विद्यार्थीका लागि छुट्टाछुट्टै कार्यक्रम तय भएको छ’, मन्त्री थापाले प्रष्ट पारे।

मन्त्रालयका सचिव प्रकाश पौडेलले विद्यार्थीको रुचीअनुसारको पाठ्यक्रम पढाउन आवश्यक रहेको उल्लेख गरे।

‘स्थानीय तह नै शिक्षाको जग भएकाले समन्वय र सहकार्यका आधारमा अगाडि बढ्न आवश्यक छ’, उनले भने, ‘एक्लाएक्लै हिँडेर संघीयताको मर्मनुसार काम हुँदैन।’

नागरिकको घरदैलोमा नै सरकार आएको आभाष दिलाउने गरी काम गर्न उनको निर्देशन छ।

तीन दिनसम्म चल्ने कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई, कास्की, पर्वत, स्याङजा, म्याग्दी, बाग्लुङ र मुस्ताङको सामाजिक विकास कार्यालय र स्थानीय तहको सहभागिता छ।