फेवाताल जलाधार क्षेत्रको दिगो व्यवस्थापनमा प्रभावकारी समन्वय आवश्यक

पोखरा महानगरपालिका प्रमुख आचार्य भन्छन्, ‘फेवातालको संरक्षण भविष्यको पुस्ताका लागि पनि महत्वपूर्ण छ, यसमा सबै पक्ष चनाखो बनौं’

जनसम्मत
भाद्र २४, २०८१, सोमबार

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड दिएका छन्।

महानगरपालिकाको समन्वयमा अनुसन्धानात्मक संस्था इनोभेटिभ भिजन प्रालिद्धारा आयोजित ‘फेवाताल र त्यसको जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि पारिस्थितिकीय सेवा शुल्क भुक्तानी संयन्त्र स्थापनाको लागि सरोकारवाालाहरुको कार्यशाला’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘अनियन्त्रित मानवीय क्रियाकलापका कारण फेवाताल गेग्रानहरुले भरिँदै गएको छ।’ माथिल्लो तटीय क्षेत्र र यसका जलाधार क्षेत्रहरूबाट बगेर आउने गेग्रान तालमा थुप्रिएका छन्’, नगर प्रमुख आचार्यले भने, ‘यी अनियन्त्रित मानवीय क्रियाकलापका परिणामहरू हुन्। यसलाई समयमा नै रोक्न सकिएन र सबै सरोकारवालाबीच आवश्यक समन्वय हुन सकेन भने भविष्यमा आउन सक्ने गंभीर वातावरणीय जोखिमको सामना गर्नु पर्ने हुन्छ।’

फेवातालको संरक्षण भविष्यको पुस्ताका लागि पनि महत्वपूर्ण हुने भन्दै उनले यसमा चनाखो बन्न सबै पक्षलाई आब्हान समेत गरे।

फेवातालको संरक्षणका लागि तल्लो तटीय क्षेत्रले माथिल्लो तटीय क्षेत्रको समग्र वातावरण संरक्षण र जीविकोपार्जनलगायत क्षेत्रमा योगदान गर्नु पर्ने उनको भनाई थियो।

‘फेवाताल देखाएर माथिल्लो जलाधार क्षेत्रमा बसोबास गरिरहेका बासिन्दाहरूलाई विभिन्न किसिमका अंकुशहरू लगाउने अनि त्यसको फाइदा सधैभरी तल्लो तटीय क्षेत्रले मात्र लिने कुरा प्राकृतिक न्यायको सिद्धान्तका हिसाबले पनि मिलेको छैन’, उनले थपे, ‘अव यसको व्यवस्थापनका लागि पारिस्थितिकीय सेवा शुल्क भुक्तानीको बलियो संयन्त्र स्थापना गरी सन्तुलन कायम गर्नै पर्दछ।’

यसो गर्न सकेमात्र फेवातालको संरक्षण र विकासको दायित्व सवै पक्षमा बढ्ने उनको प्रतिक्रिया छ।

फेवातालमा बर्सेनी बगेर आउने ठूलो मात्राको गेग्रान रोक्नका लागि तालको माथिल्लो क्षेत्रमा मड ड्याम निर्माण गर्ने योजनामा महानगरपालिका रहेको उनले बताए।

यसअघि, फेवातालमा मिसिने विभिन्न खोलाहरूमा निर्माण गरिएका शिल्टेसन तथा चेक ड्यामहरूले समेत फेवातालमा आउने गेग्रानहरुलाई रोक्न मद्दत गरेको उनले प्रष्ट पारे।

फेवाताल र त्यसको जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि पारिस्थिततिकीय सेवा शुल्क भुक्तानी संयन्त्र स्थापनाको औचित्यका विषयमा अध्ययन टोलीका नेता केशव खनाल, फेवातालमा पारिस्थितिकीय सेवा शुल्क भुक्तानीका क्षेत्रमा यसअघि भएका प्रयासबारे दिलबहादुर भट्टराईले आफ्नो प्रस्तुति राखे।

कार्यक्रममा रुपातालमा तयार पारिएको पारिस्थितिकीय सेवा शुल्क भुक्तानी संयन्त्रका बारेमा समेत प्रस्तुत गरिएको थियो।

कार्यक्रमका सहभागीहरूले फेवातालको संरक्षणका लागि प्रभावकारी पारिस्थितिकीय सेवा शुल्क भुक्तानी संयन्त्र स्थापनामा जोड दिए।

सरोकारवाला पक्षहरूले यस प्रकारको संयन्त्र स्थापना भए पारिस्थितिकीय प्रणालीको सन्तुलन कायम गर्न सकिने प्रतिक्रिया दिएका छन्।

पर्यावरणको संरक्षण र वातावरणीय सन्तुलनले मात्र फेवातालको भविष्यलाई दिगो बनाउन सकिने उनीहरूको तर्क छ।

वातावरण जोखिम विश्लेषण विना निर्माण गरिएका ग्रामीण सडकहरू, परम्परागत कृषि प्रणाली, अव्यवस्थित विकास निर्माण, बढ्दो प्रदूषण, जलकुम्भीलगायतका मिचाहा प्रजातिको विकास, जलाधार क्षेत्रको संरक्षण अभावका कारण फेवाताल पुरिँदै गएको विभिन्न अध्ययनहरूले देखाएको छ।