प्रेस चौतारी अध्यक्ष बस्नेतमाथि प्रहरी धरपकड

धरपकड सम्बन्धमा पत्रकार महासंघको आपत्ति, उजुरी परेकोले बस्नेतसँग सोधपुछ गर्न खोजिएको साइबर ब्युरोको भनाई

जनसम्मत
भाद्र २८, २०८१, शुक्रबार

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतमाथि प्रहरीले धरपकड थालेको छ।

बस्नेतमाथि प्रहरीले धरपकड गरेपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।

प्रेस काउन्सिलको अधिकार क्षेत्रलाई हस्तक्षेप गर्दै प्रहरीले पक्राउ गर्न खोज्नुले प्रेस स्वतन्त्रतामाथि गंभीर आघात पुगेको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

‘महासंघ प्रहरीको यो हस्तक्षेपको कडा शब्दमा निन्दा गर्दछ र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँछ,’ विज्ञप्तिमा भनिएको छ।

बिहीबार साइबर ब्युरोबाट खटिएको प्रहरी टोली बस्नेतलाई पक्राउ गर्न हार्दिक होटलमा पुगेको थियो।

बस्नेत होटलमा कार्यक्रममा सहभागी भइरहेका बेला पक्राउ गर्न खोजेपछि चौतारीका नेताहरूले प्रतिवाद गरेका थिए।

उता, नेपाल प्रहरीको साइबर ब्युरोले भने बस्नेतसँग केही विषयबारे सोधपुछ गर्न खोजिएको बताएको छ।

नेकपा (एमाले) को भ्रातृ संस्था प्रेस चौतारीका अध्यक्ष बस्नेत जनता टाइम्स अनलाइनका संचालक पनि हुन्।

उक्त अनलाइनमा प्रकाशित समाचारको विषयमा उजुरी परेपछि प्रहरीले उनीसँग सोधपुछ गर्न लागेको बताइएको छ।

हेरौं, पत्रकार महासंघको विज्ञप्ति

 

बस्नेतमाथिको प्रहरी धरपकड सम्बन्धमा प्रेस चौतारी नेपालले पनि प्रेस विज्ञप्ति निकाल्दै गंभीर आपत्ति जनाएको छ।

चौतारीका महासचिव हिरामान लामाद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा संगठनको कार्यक्रम भइरहेको बेला आज दिउँसो ४ बजेतिर नेपाल प्रहरीको केन्द्रीय साइबर व्यूरोको अधिकारी भन्दै सादा पोशाकका प्रहरीले अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेका थिए। तर, कार्यक्रममा उपस्थित पत्रकारहरुले सामूहिक रुपमा प्रतिवाद गरेपछि प्रहरीको टोली फर्किएको थियो। समाचारमा चित्त नबुझे प्रेस काउन्सिल नेपालमा उजुरी दिने कानुनी व्यवस्था रहेको छ।’

जनताटाइम्स डटकममा समाचार लेखेकै कारण अपराधी जसरी सुनियोजित रुपमा पक्राउ गर्न खोजिनु स्वतन्त्र प्रेस र देशको कानुनको समेत ठाडो उल्लंघन रहेको प्रेस चौतारी नेपालले ठहर गरेको जनाएको छ।

‘यसो हुँदाहुँदै पनि जनताटाइम्स डटकममा समाचार लेखेकै कारण अपराधी जसरी सुनियोजित रुपमा पक्राउ गर्न खोजिनु स्वतन्त्र प्रेस र देशको कानुनको समेत ठाडो उल्लंघन रहेको प्रेस चौतारी नेपालको ठहर छ। यस घटनाको निन्दा र भत्र्सना गर्दै घटनाको छानविन गर्न मागसहित आगामी दिनमा यस्ता हर्कत नगर्न हामी चेतावनी दिन चाहन्छौं। अन्यथा, त्यसबाट उत्पन्न हुने परिस्थितिको स्वयं सम्बन्धित निकायले लिनुपर्ने तर्फ बेलैमा सचेत गराउन पनि चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ।