फेरि धकेलियो, पत्रकार महासंघको निर्वाचन मिति

असोज १२ मा निर्वाचन, भोली असोज २९ गते मतदाता सूची प्रकाशन

जनसम्मत
भाद्र २८, २०८१, शुक्रबार

नेपाल पत्रकार महासंघको निर्वाचन चौथो पटक धकेलिएको छ।

नेपाल पत्रकार महासंघले आगामी असोज १२ गते निर्वाचन गर्ने गरी मिति तोकेको छ।

शुक्रबार कार्यवाहक अध्यक्ष रमेश विष्टले प्रेस विज्ञप्ति प्रकाशित गरी असोज १२ गते शनिबारका दिन निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई पत्रचार गरिएको जनाएका छन्।

यसअघि, महासंघले असोज ५ गते तीनै तहको निर्वाचन गर्ने घोषणा गरेको थियो।

तर, अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएपछि महासंघले मिति पर सारेको हो।

चुनावको मिति घोषणा गरेर पोखे्रलले विभिन्न कारण देखाउँदै राजीनामा दिएपछि असहज परिस्थिति उत्पन्न भएको विष्टले बताएका छन्।

भदौ १६ गते तत्कालीन अध्यक्ष विपुल पोख्रेलले सूचना जारी गरेर असोज ५ गतेका लागि चुनावको मिति घोषणा गरेका थिए।

तर, गत सोमबार नै पोख्रेलले पदबाट राजीनामा दिएका थिए।

वरिष्ठ उपाध्यक्ष रमेश विष्ट अहिले कार्यवाहक अध्यक्ष छन्।

विष्टको समितिले अब असोज १२ गते शनिबारका दिन चुनाव गर्ने गरी मिति तोकेको छ।

‘अध्यक्ष पोख्रेलकै नेतृत्वमा महासंघसँग सरोकार राख्ने पक्षहरूसँगको सहमतिमा तयार भएको मतदाता सूची आज मिति २०८१ भाद्र २८ गते निर्वाचन समितिलाई हस्तान्तरण गरिएको जानकारी गराउँदछु’ कार्यवाहक अध्यक्ष विष्टले विज्ञप्तिमा भनेका छन्, ‘साथै, महासंघको तर्फबाट मिति २०८१ असोज १२ गते शनिबारका दिन निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई पत्रचार गरिएको छ। मतदाता सूची मिति २०८१ भाद्र २९ गते शनिबारका दिन सार्वजनिक गरी सोही दिन निर्वाचन प्रयोजनका लागि तालिका सार्वजनिक गर्ने समझदारी भएको जानकारी गराउँदछु।’

उनले महासंघको निर्वाचन सम्पन्न गर्न महासंघका सबै समितिहरू, सदस्य, सल्लाहकार, पूर्वअध्यक्ष र पत्रकारितासँग सम्बन्धित सबै संघसंस्था तथा सरोकारवाला पक्षहरूलाई सहयोगको आहृवान पनि गरेका छन्।

सदस्यता शुद्धीकरणलगायतका कारण विवाद परेको पत्रकारको छाता संगठन महासंघको निर्वाचन मितिहरु सर्दै सर्दै आएको हो।

गत भदौ १६ गते अध्यक्ष विपुल पोख्रेलले सूचना जारी गर्दै असोज ५ गतेका लागि जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिका लागि निर्वाचन हुने हुने भनिएको थियो।

त्यो निर्वाचन मिति फेरि अहिले आएर सरेको हो।

तोकिएको मितिमा गत असार २६ मा हुन्छ भनिएको चुनाव सदस्यता शुद्धीकरणलगायतका कारण विवाद पर्दै आएको थियो।