विमला भण्डारी, गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार

भण्डारी, नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्षसमेत हुन्, प्रेस रजिस्ट्रारको कार्यकाल ४ वर्षको रहनेछ

जनसम्मत
भाद्र २८, २०८१, शुक्रबार

विमला भण्डारी गण्डकी प्रदेशको पहिलो प्रेस रजिस्ट्रारमा नियुक्त भएकी छन्।

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई प्रेस रजिस्ट्रारमा नियुक्त गरेको हो।

गण्डकीका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले भण्डारी रजिस्ट्रार नियुक्त भएको जानकारी दिएका छन्।

उनी, गण्डकी प्रदेशकै पहिलो रजिस्ट्रार बनेकी छिन्।

प्रेस रजिस्ट्रारको कार्यकाल ४ वर्षको रहनेछ।

भण्डारी, नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्षसमेत हुन्।

प्रेस रजिस्टार छनोटका लागि सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. टकराज गुरुङको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको थियो।

प्रेस रजिस्ट्रारका लागि ५ जनाको आवेदन परेको थियो।

समितिले ३ जनाको नाम प्रस्ताव गरेकोमा भण्डारीलाई नियुक्त गरिएको हो।

गण्डकी प्रदेश सरकारले आमसंचारसम्बन्धी व्यवस्था गर्ने बारेको कानुन निर्माण गरेपछि सोही कानुनको व्यवस्थाअनुसार प्रेस रजिस्ट्रार नियुक्त गरिएको हो।

गण्डकी प्रदेश आमसंचार ऐन, २०८० मा प्रेस रजिस्ट्रार नियुक्तिको व्यवस्था छ।

प्रेस रजिस्ट्रारले प्रदेशमा आमसंचारको व्यवस्थापन र नियमनको काम गर्ने कानुनी व्यवस्था छ।

ऐनले प्रदेशमा ११ औं तहका कर्मचारी अर्थात प्रदेश सचिवसरहका प्रेस रजिस्ट्रार हुने कानुनी व्यवस्था गरेको छ।

पत्रकार महासंघको अध्यक्षमा देशभरमै निर्वाचित २ जिल्ला महिला अध्यक्षमध्ये उनी एक हुन्।

महासंघको ३ वर्षको कार्यकालमा उनले कास्की शाखामा उदाहरणीय काम गरेकी छिन्।

उनको कार्यकालमा कास्की शाखामा ई–लाइब्रेरी, स्रोत केन्द्र स्थापना भएका छन्।