‘गुणस्तरीय समाचार सामग्री उत्पादन गर्नुपर्छ’

संचारमन्त्री गुरुङ प्रतिबद्धता जनाउँछन्, ‘सामुदायिक रेडियो बचाउन आफ्नोतर्फबाट सत्प्रयास रहन्छ’

जनसम्मत
भाद्र २९, २०८१, शनिबार

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामुदायिक रेडियोले श्रोताप्रति उत्तरदायी भएर गुणस्तरीय समाचार सामग्री उत्पादन गर्नुपर्ने बताएका छन्।

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को १८ औँ वार्षिक साधारण सभा तथा ८ औं अधिवेशनको शुक्रबार उद्घाटन समारोह कार्यक्रममा बोल्दै संचारमन्त्री गुरुङले सामुदायिक रेडियो बचाउन आफ्नोतर्फबाट प्रयास गर्ने प्रतिबद्धता जनाए।

उनले भने, ‘सामुदायिक रेडियो क्षेत्रमा क्यान्सरै त भएको होइन। रेडियोहरू बिरामी अवस्थामा भएकाले उपाय निकाल्नु पर्छ। त्यसका लागि मेरोतर्फबाट इमानदार प्रयास र प्रयत्न हुने छ।’

मन्त्री गुरुङले एक वर्षभित्र संचारसँगसम्बन्धी सबै पुराना ऐन तथा कानुन हटाएर नयाँ कानुन ल्याउन लागेको जानकारी दिए।
उनले संचार क्षेत्रमा समस्या बढी भएकाले काम गर्ने अवसरका रूपमा लिएको बताए।

रेडियो नेपाल, गोरखापत्र संस्थान र राष्ट्रिय समाचार समिति (रासस), हुलाक सेवालगायत संचार संस्थाहरू पञ्चायती ऐन कानुनबाट संचालन भएको उनले दाबी गरे।

उनले नेपाल टेलिभिजन, प्रेस काउन्सिल ऐनलगायत नयाँ ऐनबाट संचालित भएपनि प्रभावकारी काम गर्नुपर्ने देखिएको उल्लेख गरे।

उनले सार्वजनिक प्रसारण ऐनको विधेयक संसद्बाट पास भएकाले अरू संचार कानुन बिस्तारै बन्दै जाने दाबी गरे।

मन्त्री गुरुङले भने, ‘आमसंचार विधेयकको ड्राफ्ट तयार गरिसकेका छौँ। अर्थ मन्त्रालय र कानुन मन्त्रालयबाट सहमति लिएपछि पारित हुन्छ।

मिडिया काउन्सिल समितिमा छलफलको क्रममा छ। सामाजिक सञ्जालको प्रयोग र नियमन गर्ने कानुन सबैभन्दा बढी आवश्यकता हो। त्यो मन्त्रीपरिषद्बाट छिट्टै पारित हुन्छ।’

प्रधानमन्त्रीले समेत साइबर सुरक्षासम्बन्धी कानुन छिटो बनाउन भनेको उनले उल्लेख गरे।

उनले नेपालमा साइबर सुरक्षा सबैभन्दा चुनौतीपूर्ण अवस्थामा रहेको औंल्याए।

उनले यस वर्षभित्र सबै नीतिगत काम पूरा हुने जानकारी दिए।

नेपाली काँग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले रेडियोका समस्या समाधानका लागि सबै पक्ष एकताबद्ध भएर उपायको खोजी गर्नुपर्ने बताए।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राज्यले रेडियो जोगाउने नीति ल्याउनुपर्नेमा जोड दिए।

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का अध्यक्ष अर्जुन गिरीले रेडियोको सामग्री उत्पादन गुणस्तरीय हुँदै गएमा अझै पनि रेडियोको भविष्य रहेको दाबी गरे।

गोरखापत्र अनलाइनमा  समाचार छ ।