नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व महामन्त्री शंशाङ्क कोइरालाले युवालक्षित कृषि कार्यक्रममा जोड दिएका छन्।
उनले युवालाई कृषितर्फ आकर्षण गर्न जरुरी भएको बताए।
कोइराला भन्छन्, ‘नेपाल कृषि उत्पादनका लागि उपयुक्त स्थान भएकाले कृषि क्षेत्रबाट नै समृद्धि हासील गर्न सकिन्छ।’
वीपी चिन्तन प्रतिष्ठानद्धारा आज (विहीबार) पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय नेपालमा कृषि क्रान्ति : सम्भावना र चुनौती विषयक विचार गोष्ठीमा आफ्नो भनाई राख्दै कोइरालाले भने, ‘सरकारले कृषिलाई पहिलो प्राथामिकतामा राख्नुपर्छ।’
आफ्नो परिवारको मुख्य पेशा पनि कृषि नै भएको भनाई उनको छ।
वीपी कोइराला कृषि पेशाप्रति आकर्षण हुने गरेको भनाई पनि उनले राखे।
नेपालमा थुपै कृषियोग्य भूमि भएकाले त्यसको सदुपयोग गर्दै विदेशबााट आयात गरिने खाद्यान्न तथा तरकारी घटाउँदै जानुपर्ने उनको भनाइ छ।
‘कृषिमा आत्मनिर्भर हुन सक्यौ भने नेपालको खरबौ रुपैयाँ नेपालमा नै रहन्छ’, उनले उल्लेख गरे।
नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले वीपीको विचारलाई आत्मसाथ गर्दै कृषि क्रान्ति ल्याउन सकयौ भने नेपालीको भविष्य यसैमा हुने बताए।
प्रजातन्त्रमा नेपाली जनतामा मालिक हुने भएकाले उनीहरुकै सेवामा दलका नेताहरु लाग्नुपर्ने भनाई उनको छ।
कृषिलाई केन्द्रबिन्दुमा राखेर सरकारले अनुदान र कृषिमा आधुनिकीकरण गर्न आवश्यक भएको उनले जोड दिए।
नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता एवं गण्डकी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले ६८ प्रतिशत जनता कृषिमा आवद्ध भएको नेपालमा कृषिलाई बैज्ञानिकीकरण गर्दै मध्यम वर्गका युवालाई त्यसतर्फ आकर्षण गर्न जरुरी हुने वताए।
‘दिगो विकास र अर्थतन्त्र सुधारको लागि सरकारले कृषिलाई नै पहिलो प्राथामिकाता दिनुपर्छ’, अधिकारीले भने, ‘रेमिट्यान्सको भर पर्दा देशको अर्थतन्त्र कुनैपनि बेला ढल्न सक्छ।’
नेकपा (माओवादी ) केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन कृषिमा ठूलो क्रान्ति ल्याउनुपर्ने बताए।
जमिन भएर पनि हामीले कृषि क्षेत्रमा विकास गर्न नसक्नु विडम्बना भएको बताए।
उनले भने, ‘कृषि नीति बलियो भयो भने देशले कृषि क्षेत्रमा काचुली फेर्नेछ।’
उक्त कार्यक्रम वीपी चिन्तन प्रतिष्ठानका केन्द्रीय सदस्य ऋषि काफ्लेको अध्यक्षता एवं नेपाली काँग्रेस कास्कीका सहसचिव शंकर ढुुंगानाले संचालन गरेको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शारदा पौडेल, विपी चिन्तन प्रतिष्ठानका सह–अध्यक्ष पुुष्पराज पराजुुली, केन्द्रीय सदस्य नवराज गुुरुङ, पूर्व मन्त्री यज्ञबहादुर थापा, नेपाली काँग्रेस गण्डकी प्रदेश महामन्त्री विष्णुु लामिछाने, डा. लक्ष्मीकान्त पौडेल, गणेशमान फाउन्डेशनका गण्डकी प्रदेश संयोजक दुुर्गा तिमल्सिना, प्रतिष्ठानका बाग्लुुङ अध्यक्ष गोविन्द कंडेल, स्याङ्जा अध्यक्ष जीवलाल काफ्लेलगायतले बोलेका थिए।