२१ औं संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ वितरण

पुरुषतर्फ क्रिकेट कप्तान रोहितकुमार पौडेल र महिलातर्फ कराँतेकी एरिका गुरुङ ‘वर्ष उत्कृष्ट खेलाडी’

जनसम्मत
भाद्र २८, २०८१, शुक्रबार

नेपाली खेलकुद पत्रकारहरूको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले आज (शुक्रबार) एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड वितरण गरेको छ।

अवार्डको २१ औं संस्करणमा मञ्चले २०८० सालमा गरेको प्रदर्शनका आधारमा विभिन्न १० विधामा उत्कृष्ट खेलाडी, खेलकर्मी तथा पत्रकारलाई पुरस्कृत गरेको हो।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र कराँतेकी एरिका गुरुङ ‘वर्ष उत्कृष्ट खेलाडी’ बने।

रोहित, पुरुषतर्फ र एरिका महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भए।

पुरुषतर्फको अवार्डका लागि क्रिकेट टोलीका कप्तान रोहितसँगै क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, कराँतेका मोहम्मद सेखु आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङ मनोनयनमा परेका थिए।

त्यसैगरी, महिलातर्फको अवार्डका लागि १९औँ एशियाली खेलकुद (एशियाड) मा रजत पदक विजेता एरिकासँगै फुटबलकी सावित्रा भण्डारी, क्रिकेटकी रुविना क्षेत्री, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र कबड्डीकी मेनुका राजवंशी मनोनयनमा परेका थिए।

त्यस्तै, भलिबलकी कविता भट्टले पिपुल्स च्वाइसको अवार्ड जितिन्।

नेपाल काभा महिला नेसन्स लिग २०२४ मा नेपाल दोस्रो हुँदा र काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा तेस्रो हुँदा उनी नेपाली टोलीको सदस्य थिइन्।

यस अवार्डका लागि कवितासँगै क्रिकेटका गुलशन झा, कबड्डीकी मानमति विष्ट फुटबलकी प्रीति राई र रग्बीका श्रीराम श्रेष्ठ मनोनयनमा परेका थिए।

भारोत्तोलनका हेमन्त पालले ‘प्लेयर अफ दि इयर’ को अवार्ड जितेका छन्।

१६ वर्षका हेमन्तले भारतको नोयडामा भएको एसियन जुनियर भारोत्तोलन च्याम्पियनसीपमा कास्य पदक जितेका थिए।

यस अवार्डका लागि हेमन्तसँगै क्रिकेटर अर्जुन कुमाल, टेबल टेनिसका सुजन बडाल, फुटबलकी प्रिति राई, र टेनिसकी सुनिता थापा मनोनयनमा परेका थिए।

कराँतेका कुशल श्रेष्ठले ‘बर्ष उत्कृष्ट प्रशिक्षक’को अवार्ड जितेका छन्।

यस अवार्डको लागि कुशलसँगै राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाई, कबड्डीकी पार्वती राई, पारा ओलम्पिकका कविराज नेगी लामा, भारात्तोलनका प्रशिक्षक सञ्जय महर्जन मनोनयनमा परेका थिए।

यसैगरी, नेपाली राष्ट्रिय महिला कबड्डी टिमले ‘टिम अफ दी इयर’को अवार्ड जितेको छ।

चीनको हाङचाउमा भएको १९ औँ एसियाली खेलकुदमा राष्ट्रिय महिला कबड्डी टिमले ऐतिहासिक काँस्य पदक जितेको थियो।

नेपालले टिमतर्फ जितेको यो पहिलो पदक थियो।

पारा तेक्वान्दोकी पलेशा गोवर्धनले पारा एथलिट अवार्ड प्राप्त गरेकी छिन्।

यसै महिना फ्रान्सको पेरिसमा सम्पन्न पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी पलेशाले पारा एथलिट अवार्ड जितेकी हुन्।

तर, यो अवार्ड भने उनले १९ औं एसियाली खेलकुदमा ऐतिहासिक कास्य जितेको कारण प्राप्त गरेकी हुन्।

विसं २०८० मा उनले जितेको सो कास्य पदक एसियन पारा गेम्समा जितेको पहिलो पदक हो।

उक्त अवार्डसहित पलेशाले १ लाख रुपैयाँ नगद हात पारिन्।

यसैगरी, भलिबल प्रशिक्षक कुमार राई ‘स्पेशल अवार्ड’बाट सम्मानित भएका छन्।

कुमारले नेपाली भलिबल खेलमा राष्ट्रिय टिमलाई अनि विभागीय टिमको लागि थुप्रै स्टार खेलाडी जन्माउन महत्वपूर्ण योगदान गरेका छन्।

त्यस्तै, नेपाल क्रिकेट संघ (क्यान) का पूर्व अध्यक्ष विनयराज पाण्डेले ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्डबाट सम्मानित भएका छन्।

त्यसैगरी, कोरियन खेल पत्रकार दि होङ जोङले ‘एशियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड’ जितेका छन्।