तेक्वान्दो खेलाडी पलेशालाई पोखरामा सम्मान

पोखरा महानगरपालिकाले २ लाख २२ हजार २२२ र गण्डकी प्रदेश सरकारका तर्फबाट १ लाख ५० हजार सहित सम्मान

जनसम्मत
भाद्र ३०, २०८१, आइतबार

पेरिस पारालम्पिक २०२४ मा नेपाललाई पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पोखरामा सम्मान गरिएको छ।

पोखरा महानगरपालिकाले २ लाख २२ हजार २२२ र गण्डकी प्रदेश सरकारका तर्फबाट १ लाख ५० हजार सहित सम्मान गरिएको हो।

गण्डकी प्रदेश तेक्वान्दो संघ र कास्की जिल्ला तेक्वान्दो संघ द्वारा पोखरा रंगशालामा आइतबार आयोजित एक भब्य कार्यक्रमका बिच पलेशासहित प्रशिक्षक कविराज नेगी लामा र टिमका म्यानेजर श्याम कृष्ण श्रेष्ठलाई सम्मान गरिएको हो।

त्यसैगरी, कास्की जिल्ला तेक्वान्दो संघले समेत नगद ५० हजार ५ सय सहित पलेशालाई सम्मान गरेको छ।

पेरिस ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउन सफल खेलाडी गोवर्धनलाई गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्य, सामाजिक विकास, गण्डकी प्रदेश यूवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा र नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेजबहादुर गुरुङलगायतले संयुक्तरुपमा सम्मान गरेका हुन्।

सम्मान पछि बोल्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पाण्डेले पलेशालाई गण्डकी प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने घोषणा गरेका छन्।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पलेशा गोवर्धनले प्राप्त गरेको सफलताले नेपालको खेल जगत उत्साहित भएको बताएका छन्।

पोखरा महानगर प्रमुख धनराज आचार्यले नेपाली खेलकुदको क्षेत्रमा पलेसा गोवर्धनले प्राप्त गरेको सफलताले खेल जगतमै उत्साहको नयाँ संचार गरेको बताए।

नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी पलेशा गोवर्धनले तेक्वान्दोको के ४४ अन्तर्गत ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरी कास्य पदक जितेकी थिइन्।

पलेसा, ओलम्पिक प्रतिस्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडीसमेत बनेकी छन्।