लिग–२ को त्रिदेशीय श्रृंखलामा नेपाल क्यानडासँग पराजित

क्यानडाले दिएको २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४० ओभर १ बलमा १५० रनमा अलआउट भयो

जनसम्मत
असाेज १, २०८१, मंगलवार

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृंखलाअन्तर्गत क्यानडासँगको खेलमा नेपाल पराजित भएको छ।

क्यानडाको किङ सिटीमा गएराति भएको खेलमा नेपाल एक १०३ रनले पराजित भएको हो।

क्यानडाले दिएको २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४० ओभर १ बलमा १५० रनमा अलआउट भयो।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक २२ रन बनाए।

क्यानडाका डेलिन हेलिगरले ५ विकेट लिए।

त्यसअघि, टस हारेर ब्याटिङ गरेको घरेलु टोली क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २५३ रन बनाएको थियो।

क्यानडाका लागि कप्तान निकोलस किर्तनले अविजित ७३ रन बनाए।

नेपालका ललित राजवंशी र सोमपाल कामीले समान २÷२ विकेट लिए।

एकदिवसीय खेलमा क्यानडासँग नेपाल पहिलो पटक पराजित भयो।

यसअघि, क्यानडासँग भएको ३ खेलमा नेपालले शतप्रतिशत नतिजा निकालेको थियो।

जितसँगै क्यानडा ९ खेलमा ५ जित र ४ हारका साथ १० अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

पराजित नेपाल ५ खेलमा १ जित र ४ हारका साथ २ अंकसहित तालिकाको ७ औं स्थानमा छ।

नेदरल्यान्ड ८ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा छ।

विश्वकप सन् २०२७ को छनोटको रुपमा रहेको लिग–२ मा ८ टोलीको सहभागिता छ।

नेपालले दोस्रो खेलमा भोलि ओमानसँग, तेस्रो खेलमा असोज ६ गते क्यानडासँग र चौथो खेलमा असोज ८ गते ओमानसँग खेल्नेछ।